सहयात्री नेपालको चियापानबाट ६० हजार संकलन
नेपालगन्ज : सहयात्री नेपाल बाँकेले सञ्चालन गरेको चियापान अभियानबाट ६० हजार ७ सय एक रुपैयाँ संकलन भएको छ ।
‘एक चिया, एक जीवन, एक परिर्वतन’ भन्ने नारासहित राष्ट्रसेवक स्वर्गीय विन्दु कुँवरको स्मरणमा क्यान्सर पीडित तथा नीलसागर सेवा आश्रमको भवन निर्माणका लागि ९ साउन २०८२ मा सञ्चालन गरेको एक दिने चियापान अभियानका क्रममा दुई सय जना मनकारीले चियापानमा सहभागिता जनाउँदै दान पेटिकामा स्वेच्छाले ३४ हजार एक सय १६८ रुपैयाँ र अनलाइनमार्फत २६ हजार ५३३ रुपैयाँ सहयोग गरेको संस्थाका सचिव अञ्जना चर्तुर्वेदीले जानकारी दिइन् ।
अभियान सञ्चालनका क्रममा भएको ७ हजार ४७५ रुपैयाँ खर्च भने सहयात्री नेपालका सदस्यले नै ब्यहोरेका थिए ।
अभियानबाट संकलन भएको रकम संस्थाले ८० प्रतिशत ५० हजार ५१ रुपैयाँ नीलसागर सेवा आश्रममा स्वर्गीय बिन्दु कुँवरको स्मृतिमा कोठा निर्माण गर्न र २० प्रतिशत १० हजार ६५० रुपैयाँ दाङ जिल्ला राप्ती गाँउपालिका वडा नम्बर ४ मौरीघाट निवासी पाठेघर क्यान्सर पीडित पार्वता मल्ल ३८ वर्षलाई प्रदान गरिएको सचिव चर्तुर्वेदीले बताइन् ।
लामो समय महिला तथा बालिबालिका कार्यालय बाँकेमा रहेर काम गरेकी महिला विकास निरीक्षक विन्दु कुँवरको क्यान्सरबाट २६ जेठ २०७७ सालमा मृत्यु भएको थियो । क्यान्सरले थलिएपछि उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत रहेकी थिइन् ।
अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धाको सेवाको माध्यमबाट कुँवरले सबैको मन जिते पनि क्यान्सरलाई भने जित्न सकिनन् । जिल्लामा गठन गरिएको बाल क्लब उनकै कारण निकै सक्रिय थियो । उनी बाल क्लबका सदस्यलाई सन्तान जस्तै माया गर्थिन । त्यसैले त बालबालिकाहरु कुँवरलाई आमा भनेर सम्बोधन गर्र्थे । किशोरावस्थामा पुगेका बाल क्लबका सदस्यहरुले नै सहयात्री नेपाल नामक संस्था खोलेर अहिले सेवाका कामहरु गरिरहेका छन् ।









