भेरी अस्पतालको फार्मेसी आगलागीको विस्तृत अनुसन्धान गर्न जिप्रकालाई सिफारिस

नेपालगन्ज : भेरी अस्पतालकोे फार्मेसीमा भएको आगलागीको घटनाबारे विस्तृत रुपमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई सिफारिस गरिएको छ ।
भेरी अस्पताल विकास समितिले गठन गरेको आगलागी प्रारम्भिक छानबिन उप-समितिले गत ३० साउनमा अस्पताल विकास समितिलाई प्रतिवेदन हस्तान्तरण गर्दै जिप्रकालाई विस्तृत अनुसन्धानका लागि सिफारिस गरिएको उप-समिति संयोेजक डा.डक्टप्रसाद धितालले जानकारी दिए । प्रतिवेदनमा भनिएको छ, ‘घटनाको संवेदनशीलता, कानुनी र फरेन्सिक प्रकृतिको भएकाले विस्तृत अनुसन्धान आवश्यक छ । विस्तृत अनुसन्धानको जिम्मेवारी जिल्ला प्रहरी कार्यालय बाँकेलाई सिफारिस गरिएको छ ।’
उपसमितिले घटनास्थलको स्थलगत अवलोकन, अस्पताल प्रशासन र फार्मेसीका कर्मचारीसँग छलफल, कागजात अध्ययन, औषधि व्यवस्था विभाग र विद्युत प्राधिकरणका विज्ञको राय लिएको संयोजक धितालले बताए ।
१३ वैशाख २०८२ मा भेरी अस्पतालको मेडिकल स्टोेरमा आगलागी भएको थियो । आगलागीबाट ३३ लाख रुपैयाँको पूर्ण क्षति र ७४ लाखको आंशिक गरी एक करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।