उम्मेदवारीको ९ महिनापछि धनसिंह साउँद धनसिंहपुर ग्रामीण सहकारीको सर्वसम्मत् अध्यक्ष निर्वाचित !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको धनसिंहपुर ग्रामीण विद्युत सहकारी संस्थाले चुनावी साधारणसभा सम्पन्न भएको ९ महिनापछि नयाँ नेतृत्व चयन गरेको छ । टीकापुर नगरपालिका ८ बटनपुरमा केन्द्रीय कार्यालय रहेको सहकारीले साधारणसभामा अध्यक्ष पदमा उम्मेदवारी दिएका धनसिंह साउँदलाई नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

६ पुस २०८१ मा चुनावी साधारणसभा गरेको सहकारीले सञ्चालक समितिमा अध्यक्ष रणबहादुर साउँद र धनसिंह साउँदले प्यानलै बनाएर उम्मेदवारी दिए पनि नेतृत्व चयनमा विवाद भएको थियो । गत ३ भदौमा मेरोखुसी डटकमले साधारणसभा भएको ९ महिना बित्दा पनि भएन नयाँ नेतृत्व चयन शीर्षकको समाचार प्रकाशित गरेको थियो । अनलाइनमा समाचार प्रकाशित भएपछि निर्वाचन समिति र सहकारीको नेतृत्व तहमा रहेका ब्यक्तिलाई विवाद टुंगोे लगाउन दवाब परेको थियो।  समाचार प्रकाशित भएको चार दिनमै नयाँ नेतृत्व चयन गरेर आइतबार सपथ ग्रहण पनि गराएको छ ।
सहमति अनुसार निवर्तमान अध्यक्ष रणबहादुर प्यानलबाट सञ्चालक समितिको उपाध्यक्षमा उम्मेदवारी दिएकी मनसरा साउँद र सचिव रतन खत्रीलाई समेटिएको छ । कोषाध्यक्ष भने धनसिंह साउँद प्यानलकी मथुरादेवी साउँद भएकी छन् । त्यसैगरि सदस्यमा धर्म साउँद, मनसरा बिक, मीनबहादुर बुढा, विक्रम थारु, उर्मिला चौधरी चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालक समितिलाई आइतबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । निर्वाचन समितिका संयोजक भीमबहादुर महरको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला रहेका थिए । निर्वाचन समितिका सदस्य तारा साउँदले स्वागत मन्तब्य राखेकि थिइन्् भने निवर्तमान अध्यक्ष रणबहादुर साउँदले नवनिर्वाचित सञ्चालक समितिलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
.