यम पञ्चक दोस्रो दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा
नेपालगन्ज : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथिको घटबढका कारण अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ भने बेलुकी धनधान्यकी देवी लक्ष्मीपूजा हुनेछ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाइन्छ । कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगी मानिन्छ । आधुनिक युगमा कुकुरलाई सुरक्षाका साथै अपराध अनुसन्धानमा पनि लगाइन्छ ।
लक्ष्मीपूजा पनि आजै परेको छ। ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिन्छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।