सगरमाथा स्वीमिङ क्लब नेशनल स्वीमिङ च्याम्पिनसीप

बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तेस्रो

नेपालगन्ज : ललितपुरको सगरमाथा स्वीमिङ क्लब दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को उपाधि जितेको छ ।
नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक ल्याएर उपाधि जितेको हो । यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ पदक जितेका थिए । कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । उनीहरुलाई जनही पाँच पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले प्रथम ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतियोेगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तेस्रो भएको छ । त्यसैगरी लिटिल एञ्जेल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, नेपालगन्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक ल्याएको क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको थियो ।