पत्रकार महासंघ बाँकेको आयोजनामा ३० जनाद्वारा रक्तदान
नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा नेपालगन्जमा ३० जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्ज प्राविधिक सहयोगमा महासंघले आयोजना गरेको रक्तदानको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले संयुक्त रुपमा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । अस्पतालमा बढ्दो रगतको मागलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको अध्यक्ष गिरीले बताए ।
१०६ पटक रक्तदान गर्ने जयसवाललाई सम्मान
महासंघले जिल्लामा सबैभन्दा धेरै १०६ पटक रक्तदान गर्ने पत्रकार पवन जयसवाललाई सम्मान गरेको थियो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायतले जयसवाललाई दोसल्ला, अबिर र माला लगाई सम्मानपत्रसहित सम्मान गरेका थिए ।
सोही अवसरमा रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी बाँकेको क्षेत्रीय रक्तसञ्चार केन्द्रलाई पनि कदर पत्र प्रदान गरिएको थियो भने रक्तसञ्चार केन्द्रले पनि महासंघ बाँके शाखालाई रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै प्रशंसा पत्र प्रदान गरेको थियो ।








