गुलरियामा चेलिबेटी बेचबिखनको जोखिम न्यूनीकरण गर्न समुदायस्तरमै सक्रियता बढाइने

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरियामा चेलिबेटी बेचबिखनको जोखिम न्यूनीकरण गर्न समुदायस्तरमै सक्रियता बढाइने भएको छ ।
माइती नेपाल बर्दियाको समन्वय तथा गुलरिया नगरपालिकाको सहकार्यमा सोमबार सम्पन्न नगर परियोजना परामर्श समितिको बैठकले चेलिबेटी बेचबिखन, बालविवाह तथा महिला हिंसा न्यूनीकरण गर्न समुदाय स्तरको सक्रियता बढाउने निर्णय गरेको हो ।
बैठकले माइती नेपालले गर्दै आएको कामको निरन्तरता दिदै नगरस्तर, नियमित बैठक सञ्चालन गर्ने, जोखिममा रहेका बालबालिका तथा महिलाको पहिचान गरी आवश्यक संरक्षण, उद्धार र पुनर्स्थापनामा सहकार्य गर्ने निर्णय गरेको छ। साथै विद्यालय, समुदाय र अभिभावक माझ सचेतनामूलक कार्यक्रम सञ्चालन, बालविवाह, घरेलु हिंसा र यौन दुव्र्यवहार विरुद्ध निगरानी बढाउने विषयलाई प्राथमिकता दिइएको माइती नेपाल बर्दिया संयोजक गायत्री रिमालले बताइन ।
त्यसैगरी निर्णयमा उनले प्रहरी, स्वास्थ्य संस्था, विद्यालय र स्थानीय तहबीच समन्वय मजबुत बनाउने, पीडितलाई गोपनीयता सुनिश्चित गर्दै कानुनी तथा मनोसामाजिक सेवा उपलब्ध गराउने, तथा शंकास्पद गतिविधिको तत्काल सूचना संकलन र कारबाही प्रक्रिया अघि बढाउने उल्लेख गरिएको बताइन ।
नगर प्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा सम्पन्न कायक्रममा, उपप्रमुख सावित्रा गौतम लगायत वडा अध्यक्षहरू, महिला तथा बालबालिका शाखा, शिक्षा शाखा, प्रहरी, सामाजिक विकास शाखा, गैरसरकारी संस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थिति
रहेको थियो ।
कार्यक्रम ‘हाम्रो आवाज स् चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मूल नारासहित सञ्चालन गरिएको हो। यो अभियान ‘डाउन टु जिरो’ कार्यक्रम अन्तर्गत प्लान इन्टरनेशनल नेपाल, विभिन्न साझेदार संस्था तथा नेदरल्याण्ड्स सरकारको सहयोगमा सञ्चालन भइरहेको छ। परामर्श समितिको सक्रियताले गुलरिया नगरपालिकामा चेलिबेटी बेचबिखन, बालविवाह तथा लैङ्गिक हिंसा न्यूनीकरणमा प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ।