तस्करी नियन्त्रणको माग गर्दै प्रदेश मन्त्री अग्रवाललाई संघले बुझायो ७ बुँदे ज्ञापन पत्र
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले तस्करी नियन्त्रणको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
संघ स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा सीमावर्ती बजार रुपैडियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जस्तै जमुनाहा नाकामा पनि परिचय पत्रका चेकजाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने, क्यारिङ शुल्क तिर्दा भारतीय बजारबाट तस्करीको सामान सहजै नेपालगन्जमा पुग्ने गरेकाले यसमा प्रहरी प्रशासन, भन्सारसँगको मिलोमतोको आशंका संघले गरेको छ । सम्भावित तस्करीका नाकामा ब्यारिएर र शसस्त्र प्रहरीको अस्थायी पोस्ट् राख्नुपर्ने, पाइडल रिक्सालाई निर्बाध सीमा वारपार रोक्नुपर्ने, सशस्त्र द्वन्द्वको बेला बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सारहरु पुनः सन्चालन गर्नुपर्ने, जमुनाहा नाकामा स्क्यानर मेसिन राखेर अनिवार्य रुपमा चेकजाँचको व्यवस्था गर्नुपर्ने र नेपालगन्ज भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिरहेको बारे अध्ययन गरी अवैध आयात निर्यातमा संलग्न प्रहरी, प्रशासन र भन्सार कर्मचारीहरुलाई कारबाही गर्न पनि संघले माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री अग्रवालले तस्करी र क्यारिङ नियन्त्रण गर्न नसके प्रहरी प्रशासनलाई कारबाही गर्ने चेतावनी दिए । उनले भने, ‘मैले डिआइजी र आइजी, सिडियो र एसपीलाई पटक पटक भन्दा भन्दा हैरान भइसकेको छु । उनीहरु हामीलाई सूचना दिनुस् । कहाँ भइरहेको छ ? म तपाईहरुको जागिर गरेर बसेको छु र सूचना दिने । तपाईलाई मैैले सूचना दिने होइन । कारबाही गर्ने हो भनेर पत्र तयार गरिरहेको छु ।’ मन्त्री अग्रवालले पत्र तयार गरेर गृृह मन्त्रालय, प्रहरी प्रमुख र प्रदेश प्रमुखसँग कुरा गर्र्ने बताए ।
संघका कार्यवाहक अध्यक्ष ओलीको अध्यक्षता र द्वितीय उपाध्यक्ष हरिलाल न्यौपानेले स्वागत गरेको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ, पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले जिल्लामा नागरिक अगुवा संस्थाको रुपमा संघले गरेको योगदानको चर्चा गरेका थिए ।
४ पूर्वअध्यक्षलाई सम्मान
संस्था स्थापनाको ५८औंं वर्षगाँठको अवसरमा संघले चार जना पूर्वअध्यक्षलाई सम्मान गरेको थियो । प्रमुख अतिथि मन्त्री अग्रवाल र संघका कार्यवाहक अध्यक्ष ओलीले पूर्वअध्यक्षहरु कन्हैयालाल टण्डन, सतिशचन्द्र अग्रवाल, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई संस्थागत विकासमा योगदान गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरेको थियो । सोही अवसरमा संस्थाका पूर्वपदाधिकारी र सदस्यहरुलाई पनि टोपी लगाएर सम्मान गरेको थियो ।
फोटो क्याप्सन
१. तस्करी नियन्त्रणका लागि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई ज्ञापन पत्र बुझाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली
२. नेपालगन्ज उद्योग वाणिज्य संघका चार जना पूर्र्वअध्यक्षलाई ५८औं स्थापना दिवसमा गरिएको सम्मान ।








