१४७औं मेल्भिन जोन सप्ताह :  तेस्रो दिन नेपालगन्जमा १० कार्यक्रम

नेपालगन्ज : लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४७औं जन्मजयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार एकैदिन नेपालगन्जमा १० वटा सेवाका कार्यक्रम सम्पन्न भएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. ४ का एरिया चिफ पुष्कर खड्काका अनुसार बिहान ११ बजे लायन्स क्लब अफ नेपालगन्ज युनिटीले बागेश्वरी आधारभूत विद्यालय बेलासपुरका विद्यार्थीलाई झोला र स्टेशनरी वितरण गरेको थियो ।
त्यसैगरी लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफले पशुपति माध्यमिक विद्यालय राँझामा मध्यान्न १२ बजे पोषण सम्बन्धी परामर्श कार्यक्रम आयोजना गरेको थियो ।

सोही क्लबले दिउँसो १ः३० बजे यातायात सम्बन्धी कानुनी परामर्श कार्यक्र लोटस मावि घरवारी टोलमा आयोजना गरेको थियो ।

लायन्स क्लब अफ नेपालगन्ज जीवन र इनोभेटिभले ह्याप्पी होप माध्यमिक विद्यालय पुरैनामा बाल क्यान्सरबारे सचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए ।

लायन्स क्लब अफ नेपालगन्ज सिटी, युथ र लियो क्लब अफ नेपालगन्ज सिटीले नेपालगन्ज टेक्निकल कलेजमा उत्प्रेरणा कार्यक्रम आयोजना गरेका थिए । लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीले दिउँसो मानव सेवा आश्रम नेपालगन्जमा आँखा परीक्षण गरेका थिए । क्लबले सोही आश्रमका आश्रितहरुलाई बेलुकाको खाना खुवाएको थियो ।
लायन्स क्लब अफ नेपालगन्ज पन्चशील, सिटी, बाँके एनएलएफ, बजार र सिनर्जीले संयुक्त रुपमा नील सेवा आश्रममा दैनिक उपभोग्य खाद्यान्न सहयोग गरेका थिए ।
लायन्स क्लब अफ नेपालगन्ज वाटरपार्क र न्यूरोडले मानव सेवा आश्रममा वाटर गिजर र फायर सिलिण्डर वितरण गरेका थिए । सोही आश्रममा लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीले टोपी र जुुत्ता वितरण गरेको थियो ।
शुक्रबार कोहलपुरमा भने लायन्स क्लब अफ कोहलपुर सयपत्रीले आधारभूत स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी चेकजाँच शिविर आयोजना गरेको थियो ।

मेल्भिन जोन सप्ताहका संयोजक सावित्रा शर्माका अनुसार बाँकेमा मात्र लायन्स क्लबहरुले औसत दैनिक सात वटाका दरले सेवाका कार्यक्रमहरु गरिरहेका छन् ।