नेपालमा वैकल्पिक वामपन्थी शक्तिमा जोड

सन्जय आचार्य । गुलरिया
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले नेपालमा वैकल्पिक वामपन्थी शक्तिको आवश्यकतामा जोड दिएको छ ।
नेकपा (संयुक्त) आयोजक कमिटी बर्दियाले सोमबार गुलरियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले वर्तमान राजनीतिक परिस्थितिमा दलहरू जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको जिकिर गर्दै वैकल्पिक वामपन्थी शक्तिको आवश्यकता बढ्दै गएको बताए ।
पार्टीको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिसहित पार्टीका धारणा सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा प्रमुख अर्यालले देशमा बढ्दो बेरोजगारी, महँगी, भ्रष्टाचार र राजनीतिक अस्थिरताले जनजीवन प्रभावित बनेको भन्दै त्यसको समाधानका लागि स्पष्ट नीति र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताए ।
उनले समाजवाद उन्मुख राजनीतिक धारलाई सशक्त बनाउँदै श्रमिक, किसान, महिला, दलित तथा उत्पीडित समुदायको पक्षमा पार्टी निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पत्रकारले पार्टीको भावी रणनीति, राष्ट्रिय राजनीतिमा भूमिका र स्थानीय तहमा पार्टीको गतिविधिबारे जिज्ञासा राखेका थिए।