आज मकर संक्रान्ति, राप्ती नदीमा सुरु भयो मकर स्नान

नेपालगन्ज : सूर्य धनु राशीबाट मकरमा प्रवेश गर्ने दिन हिन्दु धर्मालम्बीले शुक्रबार मकर संक्रान्ति अर्थात माघे सङ्क्रान्ति पर्व मनाइरहेका छन् । देशभरका नदी तथा जलासयमा मकर स्नान भइरहेको छ । बाँकेको राप्ती नदी किनारमा यस वर्षदेखि नाट्टा बाँके च्याप्टरको आयोजनामा संस्थागत रुपमा मकर स्नान सुरु भएको छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ।
थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई जितामार्ना दिनु भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछा लगायतको परिकार बनाएर जाँड रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ।








