क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीका अभिभावकबीच कार्यशाला

नेपालगन्ज : बाँकेको क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी नेपालगन्जले बालबालिकाहरुका अभिभावकहरुसँग कार्यशाला गरेको छ ।
नेपालगन्ज-१२ बेलासपुरस्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले प्रारम्भिक बालविकासको परिचय, महत्व, अभिभावकको किसिम बारे जानकारी गराउने, अभिभावकहरुबाट आफ्ना बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तनको बारेमा अनुभव आदान प्रदान गर्ने, विद्यालयको व्यवस्थापकिय तथा शैक्षिक गतिविधिबारे, समीक्षा गर्ने, विद्यालयको आगामी शैक्षिक सत्रमा गरिने कार्यक्रमहरु बारे जानकारी गराउने उद्देश्यले पहिलो पटक अभिभावकहरुसँग विद्यालयमै कार्यशाला गरेको हो ।
कार्यशालामा अभिभावकहरुलाई सहभागितामूलक विधिबाट कक्षा शिक्षकहरुबाट चार समूहमा विभाजन गरेर प्रत्येक समूहलाई खेल्दै सिक्ने क्रियाकलाप जस्तै भाषा, पूर्व गणित, सामाजिक तथा सिर्जनात्मक क्रियाकलापहरु पालैपालो गर्न लगाइएको थियो भने यस किसिमको क्रियाकलापबाट बालबालिकाको सर्वाङ्गीण विकास गराउन सकिन्छ भन्ने विषयलाई महसुस गर्न लगाइयो ।
विद्यालयका संस्थापक रेणु शेरचनबाट प्रारम्भिक बालविकासको परिचय, मन्टेश्वरी शिक्षा प्रणालीको अवधारणा, महत्व र फाइदाका बारेमा विद्युतीय शैक्षिक सामाग्रीको प्रयोग गरेर स्पष्ट पारेकी थिइन् ।
शेरचनले अभिभावकहरुले प्रारम्भिक बालविकास आमाको गर्भदेखि ८ वर्षसम्म हुन्छ भन्ने कुरा जानकारी गराउँदै यसको लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने विषय प्रष्ट पारेकी थिइन् ।
क्रियटिभ चिल्डेन होमका प्रिन्सिपल तथा संस्थापक खिमा थापाबाट अभिभावकहरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन् ।
अभिभावक समीर श्रेष्ठ, दिप्ति शर्मा र प्रतीक रेग्मीले पढाई लेखाइ र अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै अव्बल रहेको भन्दै प्रशंशा गरेका थिए । कार्यशालामा अभिभावक र शिक्षिकाहरु समेत ५० जनाको सहभागिता रहेको थियो ।