बर्दियामा १६ सय कुपोषित बालबालिकाको व्यवस्थापन गरिँदै

संजय आचार्य । गुलरिया
बर्दिया जिल्लामा १६ सय कुपोषित बालबालिकाको व्यवस्थापन गरिने भएको छ । जिल्लामा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले हेलन किलर इन्टरनेसनलको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्र बर्दियाको समन्वयमा ‘जीवनका लागि पोषण कार्यक्रम कार्यक्रम अघि बढाइएको हो।
केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारूले ९ महिनासम्म सञ्चालन हुने कार्यक्रमले जिल्लामा रहेका १६ हजार २०९ बालबालिकाको स्क्रेनिङ्ग गरी १ हजार ६२१ कुपोषित बालबालिकाको पहिचान गरी आवश्यक व्यवस्थापन गरिने जानकारी दिइन् ।
कार्यक्रमका अधिकृत लीलबहादुर नेपालीका अनुसार जिल्लाका आठ वटै स्थानीय तह—गुलरिया, मधुवन, ठाकुरबाबा, राजापुर, बारबर्दिया, बाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकामा कार्यक्रम लागू गरिनेछ। कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका कुपोषित बालबालिका तथा गर्भवती र सुत्केरी महिलालाई लक्षित गरिएको छ। कार्यक्रम स्थानीय पालिकासँग प्रत्यक्ष समन्वय र सहकार्यमा कार्यान्वयन गरिनेछ।

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टको अध्यक्षता बिहीबार जिल्ला स्तरीय स्वास्थ्य परिचयात्मक कार्यक्रम गरिएको थियो । कार्यक्रम यही महिनादेखि फिल्ड स्तरमा नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। कार्यक्रमले बर्दियामा कुपोषणको समस्या न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।