बर्दियामा एचपीभी खोप अभियान सञ्चालन हुँदै

संजय आचार्य । गुलरिया
बर्दियामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान २०८२ सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अभियान माघ २५ गतेदेखि माघ २९ गतेसम्म जिल्लाका आठै वटा पालिकामा सञ्चालन गरिनेछ।
जनस्वास्थ्य निरीक्षक राजुकुमार खड्काका अनुसार यस अभियानमार्फत जिल्लामा करिब ४ हजार ७ सय बालिकालाई खोप लगाइने लक्ष्य राखिएको छ। यसपटक कक्षा ६ मा विद्यालयमा अध्ययनरत छात्रा तथा १० वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीहरूलाई एचपीभी खोप दिइनेछ।
खड्काले गत वर्ष पनि जिल्लामा एचपीभी खोप अभियान सफलतापूर्वक सञ्चालन गरिएको जानकारी दिँदै कक्षा ७ देखि १० सम्म अध्ययनरत २० हजार ४ सय छात्राहरूलाई खोप लगाइएको बताए। यस अभियान अन्तर्गत विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू लक्षित समूहमा रहेका छन्।
त्यसैगरी, नियमित एचपीभी खोप सेवा अन्तर्गत विद्यालयमा अध्ययन गर्ने कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू लक्षित गरिएको छ। यसैगरी, छुट खोपको रूपमा दिइने एचपीभी खोप विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई प्रदान गरिने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।
स्वास्थ्य कार्यालय बर्दियाले पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट बच्न लक्षित उमेर समूहका सबै बालिकालाई खोप लगाउन अभिभावक, विद्यालय र सरोकारवाला निकायलाई आग्रह गरेको छ।