पत्रकार आचारसंहिता पालना नगर्नेमाथि काउन्सिल निर्मम बन्ने
नेपालगन्ज : प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकार आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति निर्मम बन्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् प्रेस काउन्सिल नेपालको सहकार्यमा सोमबार नेपालगन्जमा गरिएको ‘आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चार माध्यमलाई सुरुमा सचेत गराउने तर सुधार नभए निर्मम बन्नुको विकल्प नहुने बताए ।
अहिले निर्वाचनको माहोलमा पत्रकार अझ मर्यादित र जिम्मेवार बन्नुपर्नेमा उनको जोड रहेको थियो । पत्रकारले गल्ती सच्याउने तत्परता देखाउनुपर्ने भन्दै उनले समाचार लेख्दा समानुभूतिको सिद्धान्तलाई ख्याल गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।
पत्रकारले सामाजिक सन्जालमा व्यक्त गर्ने विचार पनि अनुगमनको दायरामा आउने भन्दै उहाँले प्रेस काउन्सिल नेपालले निरन्तर स्वअनुगमन गर्दै आएको स्पष्ट पारे ।
अध्यक्ष आचार्यले पत्रिका वर्गीकरणलाई वैज्ञानिक बनाउने, परिमार्जन गर्ने कोसिसमा लागेको जानकारी गराउँदै अनलाइन सञ्चार माध्यमको वर्गीकरणका लागि पनि प्रयास भइरहेको उल्लेख गरे ।
५० वर्ष बढी पत्रकारिता गरेका पत्रकारलाई सम्मान गर्ने निर्णय काउन्सिलले गरेको बताउँदै उनले आस्थाको आधारमा नभई योग्यताको आधारमा पुरस्कार प्रदान गर्ने प्रणाली स्थापित गरिने पनि स्पष्ट पारे । प्रादेशिक संरचना विस्तार गर्न काउन्सिल परामर्शमै रहेको बताउँदै उनले यसमा आफू सकारात्मक रहेको स्पष्ट पारे ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका आचारसंहिता अनुगमन, प्रविधि अभिलेख तथा प्रेस समन्वय शाखा प्रमुख सविता ढकालले पत्रकार आचार संहिताविरुद्ध काउन्सिलको अनुगमन, स्व अनुगमन, उजुरी, कार्यान्वयनको अवस्था, निर्वाचन आचार संहिता र काउन्सिलका सेवा सुविधाबारे जानकारी गराएकी थिइन् ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारहरूले गम्भीरतापूर्वक आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए । शाखा अध्यक्ष गिरीले निर्वाचनको समयमा पत्रकारहरू अझ संवेदनशील बन्नुपर्ने आवश्यकता महसुस गरेर आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।
उनले पत्रकार र सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गरे । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष निरजकुमार गौतम, पत्रकारहरू कृष्ण अधिकारी, डा.डक्टप्रसाद धिताल, आरिफ अन्सारी, अछरी पोखरेल, कमल खत्री, वीरेन्द्र जैसी, विजय मल्ल, समिरमान श्रेष्ठ, रविन्द्र घिमिरे लगायतले आफ्नो जिज्ञासा र सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण शाखा सचिव कृष्ण ओलीले गरेका थिए ।








