काउन्सिल अध्यक्ष आचार्यद्वारा पत्रकारलाई निर्वाचनमा सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह

संजय आचार्य गुलरिया
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । प्रेस काउन्सिलले नेपाल पत्रकार महासंघ बर्दियाको संयोजनमा मंगलबार गुलरियामा आयोजित निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष आचार्यले निर्वाचनको समयमा मिडियाले पालना गर्नुपर्ने आचारसंहिता तथा जिम्मेवारीबारे ध्यानाकर्षण गरेका हुन् ।
निर्वाचनका बेला मिडियाको भूमिका लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै आचारसंहिता पालना नगर्दा समाजमा भ्रम र अविश्वास फैलिने जोखिम रहने उनले बताए।
कार्यक्रममा काउन्सिलका आचारसंहिता अनुगमन, प्रविधि अभिलेख तथा प्रेस समन्वय शाखा प्रमुख सविता ढकालले आचारसंहिता कार्यान्वयनको अवस्था र उजुरी व्यवस्थापनबारे जानकारी दिदै सञ्चार क्षेत्रमा काम गर्ने सबैले मापदण्ड बाहिर रहेर काम नगर्न आग्रह समेत गरिन् । उनका अनुसार ०८२ श्रावण देखि हालसम्म प्रेस काउन्सिल नेपालमा १६७ वटा उजुरी दर्ता भएका छन् ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा सम्पन्न भएकोे थियो । अध्यक्ष घिमिरेले निर्वाचन नजिकिँदै गर्दा पत्रकारहरूले राजनीतिक दबाब भन्दा माथि उठेर सत्य र तथ्यमा आधारित समाचार प्रकाशन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा जिल्लाका पत्रकारहरूले निर्वाचन आचारसंहिता, उजुरी प्रक्रिया, सामाजिक सञ्जालको दुरुपयोग र त्यसले मिडियामा पार्ने प्रभावबारे जिज्ञासा राखेका थिए। ती जिज्ञासामा काउन्सिलका अध्यक्ष आचार्य र अधिकृत ढकालले जवाफ दिएका थिए।