प्राचीन बुद्धकालीन श्रावस्ती बाँकेमै छ त ?

नेपालगन्ज : बुद्धकालीन प्राचीन कोशल राज्यको राजधानी थियो, श्रावस्ती सहर । जहाँ भगवान गौतम बुद्धले २४ वर्ष तपस्या गरेको पवित्र तीर्थस्थल पनि हो, श्रावस्ती । केही नेपाली साहित्यकारले भारतीय पुरातत्व विभागका अधिकारीलाई हवाला दिँदै बाँकेको बालापुर कम्दी क्षेत्रमा नै श्रावस्ती रहेको दाबी गरे पनि अहिलेसम्म ठोस प्रमाण प्राप्त गर्न सकिएको छैन । भारतले उत्तर प्रदेश राज्यको श्रावस्ती जिल्लामा राप्ती नदीको किनारमा श्रावस्तीलाई स्थापित गरिरहेको छ । के बुद्धकालीन श्रावस्ती बाँकेमै छ त ? श्रावस्तीको चर्चा फेरि बाँकेमा सुरु भएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपेन्द्र विष्टले बुद्धकालीन सहर बाँकेमै रहेको दाबी गरेका छन् ।
आइतबार नेपालगन्जमा १४ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विष्टले यस्तो दाबी गरेका हुन् । विष्टको प्रतिबद्धता पत्रको बुँदा नंं. ४ को पर्यटन र धार्मिक अर्थतन्त्र शीर्षकमा कम्दी बालापुर क्षेत्रमा गर्भमा रहेको बुद्धकालीन सहर भनेका छन् । उनले यो सहरको पुरातात्विक खोज तथा अनुसन्धानका लागि लुम्बिनी विकामस कोष र नेपाल सरकारसँग दवाबमूलक पहल गर्ने उल्लेख गरेका छन् ।
बाँकेमा बुद्धकालीन प्राचीन सहरबारे तपाईसँग त्यस्तो के आधार प्रमाण छ भन्ने मेरोखुसीको जिज्ञासामा तारा चुनाव चिन्ह रहेका उम्मेदवार विष्टले भने, ‘लुम्बिनी विकास कोषको वेभसाइटमा पनि हामी यो कुरा हेर्न सक्छौं । चिनियाँ यात्रीहरुले पनि यो कुरा लेख्नु भएकोे छ । यो लुम्बिनी विकास कोष अन्तर्गत पर्छ । बौद्ध सर्किटको रुपमा विकास गर्न हामी पहल गर्नेछौैं ।’
कम्दीको बालापुर क्षेत्रमा धेरै वर्ष पहिले भारतीय पुरातत्वविद्हरुको टोलीले उत्खनन् पनि गरिएको थियो । केही पुरातात्विक महत्वका सामग्री भेटिए पनि श्रावस्ती नै भएको ठोस प्रमाण फेला पर्न सकेको थिएन । बालापुर क्षेत्र अहिले राप्ती नदीको कटान क्षेत्रमा पर्छ ।
विष्टका प्रतिबद्धता
विष्टका प्रतिबद्धता पत्रमा भ्रष्टाचारमुक्त क्षेत्र : शून्य सहनशीलता, नेपालगन्ज आइटी प्रविधिमैत्री सेवा र नवप्रवर्तन हब, डुडुवा र नेपालगन्जमा बाढी समस्याको स्थायी समाधान, मदरसा शिक्षाको आधुनिकता, शिक्षा, स्वास्थ्य र खेलकुद, औद्योगिक कृषि र व्यापारिक हब, धार्र्मिक सहिष्णुता सामाजिक शान्ति, आर्थिक सशक्तिकरण एवं समावेशी प्रतिनिधित्व, लागूऔषध नियन्त्रण गुरुयोजना, विद्युत, पूर्वाधार र सुविधा रहेका छन् ।
कार्यक्रमको अध्यक्षता गरेका नेकपाका केन्द्रीय सदस्य अक्कलबहादुर बम, प्रमुख अतिथि रहेकी पार्टीका केन्द्रीय सदस्य पूर्णकुमारी सुवेदी र स्वागत मन्तव्य दिने अर्का केन्द्रीय सदस्य विनोद मैनालीले विष्टका लागि भोट मागेका थिए ।








