बर्दिया भुरिगाउँकी बालगायिका उपाध्यायको ‘म फूलहरुको बीचमा’ बोलको गीत सार्वजनिक
नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँकी बाल गायिका दर्पण उपाध्यायले ‘म फूलहरुको बीचमा’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् ।
डा. कालिकाप्रसाद उपाध्याय युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। ए वान म्युजिसियन स्टूडियोमा रेकर्ड गरिएको गीतमा डा. कालिकाप्रसाद उपाध्यायका शब्द, दीपक पाठकको संगीत छ भने पुरुषोत्तम सुवेदीको संगीत संयोजन (एरेन्ज), किशोर थापाको मिक्सिङ र मास्टरिङ । राजेश थापाले रेकर्डिस्टको रूपमा काम गरेका छन् । रुद्र सिंह थापाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा बाल गायिका उपाध्याय र उनको वास्तविक परिवार बुबाआमालाई देख्न सकिन्छ ।
कलिलो उमेरमै परिपक्व गायकी प्रस्तुत गर्न सफल बाल गायिका उपाध्यायले आफ्नो यस गीतले एउटी छोरीले आफ्नो परिवारभित्र पाउने स्नेह र त्यसले उनको जीवनमा भर्ने खुसीलाई चित्रण गरेको छ ।
पारिवारिक प्रेम, सद्भाव र आत्मीयतालाई मुख्य विषयवस्तु बनाइएको यस गीतले बालबालिका र अभिभावकबीचको सुन्दर सम्बन्धलाई उजागर गरेको छ । भिडियोमा गायिका दर्पणलाई सुरुमा मौलिक नेपाली भेषभूषामा देखाइएको छ भने पछि आधुनिक गाउनमा प्रस्तुत गरिएको छ । यसले परम्परा र आधुनिकताको सुन्दर फ्युजनलाई संकेत गर्छ । यस्तै, भिडियोमा बुबाआमाबीचको कुराकानी र त्यसमा छोरीको प्रवेशले एउटा पूर्ण परिवारको चित्र कोरेको छ । अभिभावकको काखमा छोरीले पाउने सुरक्षा र खुसीलाई छायांकार प्रदिप थापा मगरले आफ्ना लेन्सबाट कलात्मक ढंगले कैद गरेका छन् ।






