खजुरा गोल्ड कप : नाइजेरियन टिम सेमिफाइनलमा

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई शून्यकाविरुद्ध तीन गोल गर्दै नाइजेरियन क्लबले सेमिफाइनलको यात्रा तय
  • खेलमा दुई गोल गरेर म्यान अफ द म्याच बने नाइजेरियन खेलाडी ताजुदिन अकिनसोला
  • शुक्रबार पहिलो सेमिफाइनल खेल गोर्खा व्वाइज र जेबीएम फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुने
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

खजुरा : बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्ड कप फुटबल प्रतियोगितामा विदेशी टिम नाइजेरियन जोन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा खजुरामा जारी प्रतियोगिताको बिहीबारको खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई शून्यकाविरुद्ध तीन गोल गर्दै नाइजेरियन क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा दुई गोल गरेर म्यान अफ द म्याच बनेका नाइजेरियन खेलाडी ताजुदिन अकिनसोलालाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले म्यान अफ द म्याच १० हजार रुपैयाँसहित पुरस्कृत गर्नुभयो ।

यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि गोर्खा ब्वाइज स्पोटस क्लब बुटवल, फोर ब्रदर्श एफसी नवलपरासी र जेवीएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । शुक्रबार पहिलो सेमिफाइनल खेल गोर्खा व्वाइज र जेबीएम फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो ।