‘नेपालगन्ज सडक खाना महोत्सव’ सुरु
नेपालगन्ज : बाँकेका होटल व्यवसायीहरुले नेपालगन्जमा तीन दिने सडक खाना महोत्सव सुरु गरेका छन् । नेपालगन्ज-१ वाटरपार्क परिसरमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँकेले संयुक्त रुपमा आयोजना गरेको ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल-२०८३’को शुक्रबार नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नु भएको हो ।
महोत्सवमा रैथाने खानाका परिकारदेखि बाँकेमा रहेको पाँच तारे होटलसम्मका परिकारहरु एकैथलोमा खाने व्यवस्था गरिएको छ । विभिन्न ब्रान्डका पेय पदार्थहरू प्रिन्ट रेटमै उपलब्ध हुने आयोजकले जनाएका छन् । मनोरञ्जनको लागि लोकप्रिय “दि फिरन्ते ब्यान्ड” को विशेष प्रस्तुति, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति हुनेछ।









