‘पेनिबा’ कथा सङ्ग्रहमाथि नेपालगन्जमा छलफल

नेपालगन्ज : कथाकार सुरेश यक्सोको कथासङ्ग्रह ‘पेनिबा’ माथि नेपालगन्जमा छलफल गरिएको छ।
चलचित्र पत्रकार संघ नेपाल बाँके र क्रियाशील पत्रकार महिला बाँकेले शनिबार संयुक्त रुपमा आयोजित कार्यक्रममा वक्ताहरूले पुस्तकलाई सशक्त, पठनीय र समकालीन यथार्थसँग जोडिएको कृति भएको बताउनु भयो ।
वरिष्ठ कथाकार सनत रेग्मीले कथा संग्रह आञ्चलिक स्वाद बोकेको भन्दै प्रशंसा गर्नुभयो। नयाँ पुस्ताका पाठकलाई आकर्षित गर्न सक्ने गरी सटिक लेखन र चित्रात्मक शैली प्रभावकारी रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पुस्तकको लेखन सशक्त र सन्देशपूर्ण रहेको बताउनुभयो । यस्तै, कवि विपि अस्तुले पछिल्लो समय कविता र उपन्यासतर्फ आकर्षण बढिरहेका बेला कथा विधामा सक्रियता देखिनु सकारात्मक भएको उल्लेख गर्दै कृतिको पठनीयता र शैलीको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, उपाध्यक्ष विमला चौधरी, चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, सजल गैरे र सावित्री विश्वकर्माले कथा संग्रहबारे धारणा राख्नु भएको थियो । पुस्तकमा १५ वटा कथा छन् ।