नेपालगन्ज पुरैनीका ३९३ जनालाई निःशुल्क स्वास्थ्य सेवा

नेपालगन्ज : ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगन्जको पुरैनीमा शिविर गरेर झन्डै चार सय जनालाई निःशुल्क स्वास्थ्य सेवा दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्र्ड नं. २२ पुरैनीस्थित स्थानीय आधारभूत विद्यालय परिसरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ९३ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको संस्थाका अध्यक्ष लेकप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षकी जेष्ठ नागरिक भगवतीप्रसाद गोडियाको स्वास्थ्य र आँखा परिक्षण गरिएको थियो भने शिविरमा सबभन्दा कम उमेर ११ महिनाका बालकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा जनरल स्वास्थ्यतर्फ २ सय ५६ जनाले स्वास्थ्य परीक्षण गराएको मध्ये महिला १८२ जना र पुरुष ७४ जना थिए भने आँखातर्फ १३७ जनाले आँखा परीक्षण गराएकोमा महिला ८५ जना र ५२ जना पुरुष रहेका थिए । बिरामीको स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि समेत निःशुल्क प्राप्त प्रदान गरिएको अध्यक्ष प्याकुरेलले बताउनु भयो । वडामा करिब ९५ प्रतिशत जनसंख्या मधेशी तथा मुस्लिम समुदायको बसोबास रहेको छ ।
डा. दीपक जायसवालका अनुसार शिविरमा जनरलतर्फ अधिकाँश सेवाग्राहीहरुमा छाला, एलर्जी, फोहोर पानीको कारण शरीर चिलाउने, हात खुट्टा दुख्ने आदि समस्या देखिएको थियो । त्यसैगरी दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्माका अनुसार एलर्जी, भाइरल आँखामा सुख्खापन, भिटामिन ए को कमी, मोतियाबिन्दु, ग्लुकोमा लगायतको समस्या देखिएको थियो ।
केन्द्रकी प्रमुख कार्यकारी निर्देशक लता शर्माका अनुसार शिविरमा सेन्ट्रल सिटी अस्पताल, नेपालगन्जका डा. दीपक जायसवाल, डा. नागेश्वर साह, दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्माले जनरल तथा आँखा परीक्षण गर्नुभएको थियो भने स्वास्थ्य अधिकृत सुनिता शर्मा, बि.एस्सी नर्सिङ स्टाफ सन्ध्या हमाल ठकुरी, स्वास्थ्य सहायक सुनील कनोजियाले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो । औषधी वितरणमा ल्याव टेक्नोलोजिष्ट राजेन्द्र कुमार वर्मा, फार्मेसी सहायक माही वैश्य, ल्याव टेक्निसियन सादिक अन्सारीले सहयोग गर्नु भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्दले शिक्षक तथा विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट श्री आधारभूत विद्यालयलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भएको थियो । उक्त बक्सभित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक १७ थरी औषधिहरु र जीवन जल उपलब्ध गराइएको छ ।