शारीरिक सुगठन प्रतियोगितामा ओम फिटनेस टिम च्याम्पियन
नेपालगन्ज : प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ को उपाधि नेपालगन्जको ओम फिटनेस टिमले जितेको छ ।
पूर्वखेलाडी समाज बाँकेको आयोजनामा आइतबार नेपालगन्जमा सम्पन्न प्रतियोगितामा २ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित ओम फिटनेस टिम च्याम्पियन बनेको हो । हेल्थ बेनी फिटनेसले १ स्वर्ण, १ रजत र १ कांस्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गर्यो ।
प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित उपाधि ‘ओभरअल च्याम्पियन’ ओम फिटनेसका दीपेन्द्रबहादुर खत्रीले जित्न सफल हुनुभयो। उहाँले ७५ केजी तौल समूहमा प्रथम स्थान हासिल गर्नुका साथै समग्र प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै ओभरअल च्याम्पियनको उपाधि आफ्नो नाममा लेखाउनुभयो ।
तौल समूह तर्फ ५५ केजीमा युनिभर्सल जिमका वामदेव थापा प्रथम, ओम फिटनेसका राज वाल्मीकि द्वितीय र चन्द्रसेन वर्मा (ओम फिटनेस) तृतीय हुनुभयो । त्यस्तै, ६० केजी तौल समूहमा स्ट्रीम फिटनेस प्रालिका करण वाडिया प्रथम, मासुम अली हल्वाई (द जिम सार्क फिटनेस प्रालि) द्वितीय र अभिशेष थारु (युनिभर्सल जिम) तृतीय हुनुभयो । ६५ केजी तौल समूहमा जगतराम महावत (ओम फिटनेस) प्रथम , उमेश महरा (स्ट्रीम फिटनेस प्रालि) द्वितीय र प्रदीप चौधरी (युनिभर्सल जिम) तृतीय हुनु भयो। त्यस्तै ७० केजी तौल समूहमा सुगम रावल (हेल्थ बेनि फिटनेस) प्रथम, शिवराज ढकाल (युनिभर्सल जिम) द्वितीय र देवराज ओली (हेल्थ बेनि फिटनेस) तृतीय हुनुभयो । ७५ केजी तौल समूहमा दीपेन्द्रबहादुर खत्री (ओम फिटनेस) प्रथम, बिरु सिंह (हेल्थ बेनि फिटनेस) द्वितीय र सोयब सिंह (हेल्थ बेनि फिटनेस) तृतीय हुनुभयो। त्यसैगरी ७५ केजीमाथि तौल समूहमा सतीसकुमार सोनी (माई फिटनेस प्रालि) प्रथम, सुरोद थापा (ओम फिटनेस) द्वितीय र हेल्थ बेनि फिटनेसका पंकज कनोजिया तृतीय हुनुभयो ।
प्रतियोगितामा नौ वटा फिटनेस क्लबका ४० जना खेलाडीले प्रतिष्पर्र्धा गरेका थिए । प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा खेलाडीहरूले उत्कृष्ट शारीरिक बनावट, मांसपेशीको विकास, प्रस्तुति कला तथा समग्र फिटनेस प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ष्ट, ओलम्पियन सुरेन्द्र हमाल, समाजका सल्लाहकार गोबर्धन सिंह सम्झना तथा अन्य अतिथिहरूले विजेता खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिता पूर्वखेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा ओलम्पियन तथा समाजका सल्लाहकार सुरेन्द्र हमाल, सल्लाहकार गोबर्धन सिंह सम्झना लगायतको उपस्थिति रहेको थियो।
पूर्व खेलाडी समाज बाँकेले पहिलो पटक आयोजना गरेको वडा कप प्रतियोगिताले नेपालगन्जमा शारीरिक सुगठन खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ।









