प्रधानमन्त्री कोषमा नेपालगन्जको सोफिया स्कुलद्वारा ३ लाख ४७ हजार सहयोग

नेपालगन्ज : बाँकेको सोफिया रेसिडेन्सियल इङ्लिस स्कुल नेपालगन्जले रसुवा बाढीपीडित नागरिकहरूको लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा झन्डै साढे ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रिन्सिपल सुरेश गुरुङका अनुसार विद्यालयले प्याब्सन बाँकेमार्फत कोषमा ३ लाख ४५ हजार ७ सय ७१ रुपैयाँ सहयोग गरेको हो । विद्यालयका संस्थापक सदस्य डा.डक्टप्रसाद धिताल र प्रिन्सिपल सुरेश गुरुङले शनिबार प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई चेक हस्तान्तरण गर्नु भएको थियो । चेक हस्तान्तरण कार्यक्रममा प्याब्सन बाँकेका सचिव विज्ञान शाह, नगर अध्यक्ष मानबहादुर थापासहित प्याब्सनको टोली विद्यालय पुगेको थियो । उक्त रकम विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकको सामूहिक पहलमा संकलन गरिएको हो ।

विद्यालयका संस्थापक सदस्य डा. डक्टप्रसाद धिताल प्राकृतिक विपद्का बेला सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विद्यालय परिवारले दुःखमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडालाई आफ्नै पीडा सम्झेर राहत संकलन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले संकलन गरेको रकम ठूलो होइन, तर यसमा हजारौँ संवेदनशील मनहरूको माया र सहानुभूति मिसिएको छ । विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट सहयोग गरे, शिक्षक र कर्मचारीहरूले स्वेच्छिक योगदान गर्नुभयो, विद्यालयले पनि जिम्मेवारी बोध गर्दै यस अभियानलाई सफल बनायो । विपद्को बेला हातेमालो गर्नु नै साँचो शिक्षा हो ।’
विद्यालयका संस्थापक अध्यक्ष केबी बसेलले सोफिया स्कुलले केवल शैक्षिक संस्था मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने मानवीय संस्थाको रूपमा आफूलाई प्रस्तुत गरेको बताउनु भएको छ ।