बाँके-बर्दियामा वन्यजन्तु आक्रमणमा २१ करोड राहात वितरण

पाटेबाघ गणनाको बाँक-बर्दिया कम्प्लेक्सका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, जैविक मार्गका वन क्षेत्रमा एक दशकमा वन्यजन्तु आक्रमणबाट भएको क्षतिमा करोडौं रुपैयाँ राहातमा वितरण गरिएको छ ।
नरभक्षी पाटेबाघको आक्रमणबाट मृत्यु भएकी बाँकेको राप्तीसोनारी–४ की लीला विष्टको शव बोकोर ल्याइँदै । फोटो सौजन्य : हेमन्त चौधरी

शंकरप्रसाद खनाल । नेपालगन्ज
बाँके र बर्दियामा वन्यजन्तुबाट भएको आक्रमणमा करोडौं रुपैयाँ भन्दा बढी राहात बाँडिएको छ ।
नेपाल सरकारको वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्र्देशिका २०८० अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु, घाइते, भौतिक पूर्वाधार र बालीनाली क्षति वापत २१ करोड १ लाख ७० हजार ६९ रुपैयाँ वितरण गरिएको हो । यो विवरण बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन, खाता समन्वय समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, मधुवन नगरपालिकाले वितरण गरेको रकम मात्र हो । लुुम्बिनी प्रदेश सरकार, दुबै जिल्लाका अन्य स्थानीय तह, तराई भूपरिधि कार्यक्रम, मध्यवर्ती वन, सामुदायिक वन र सहकारीले वितरण गरेको राहात रकम यसमा समावेश गरिएको छैन ।
वन्यजन्तुको सबैभन्दा बढी मारमा बर्दिया जिल्ला परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले ०७५/०७६ यता आव ०८२/०८३ सम्म मात्र १३ करोड ९३ लाख ४४ हजार एक सय ९२ रुपैयाँ राहात बाँडेको निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले जानकारी दिए । यो अवधिमा बर्दिया निकुञ्जमा वन्यजन्तुको आक्रमणमा परी ४८ जनाले त ज्यानै गुमाएका छन् ।
जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्र भन्दा बाहिरको जंगलमा वन्यजन्तुको आक्रमणमा मृत्यु भएमा डिभिजन वन कार्यालयले राहात दिन्छ । आर्थिक वर्ष ०७०/०७१ देखि आव २०८२/८३ सम्म बर्दिया डिभिजन वन कार्यालय बर्दियाले ५ करोड ५० लाख ३८ हजार ५७ रुपैयाँ राहात वितरण गरेको कार्यालयका सूचना अधिकारी शिवबहादुर केसी बताउँछन् । जिल्लामा निकुञ्ज बाहेक जिल्लाभरी आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्ममा वन्यजन्तुको आक्रमणबाट ३४ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १७ जना (५० प्रतिशत) खाता जैविक मार्ग क्षेत्रका बासिन्दा हुन् । यस क्षेत्रमा पाटेबाघको आक्रमणबाट मात्रै १३ जनाको मृत्यु भएको छ, जुन वन्यजन्तुबाट हुने कुल मृत्युको ७६ प्रतिशत हो ।
बर्दिया भन्दा बाँकेका वन्यजन्तुको जोखिम कम छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आर्थिक वर्ष ०७७/०७८ देखि आव २०८२/०८३ सम्म ५० लाख ३० हजार ७ सय ८७ रुपैैयाँ बाँडिसकेको छ ।
डिभिजन वन कार्यालय बाँकेले तीन आर्थिक वर्ष यता मात्र ४२ लाख २३ हजार ३१ रुपैयाँ राहतमा बाँडेको कार्यालयका सूचना अधिकारी टंकबहादुर गुरुङले जानकारी दिए । कार्यालयमा त्यसअघिको कार्यालयमा रेकर्ड नै भेटिएन । बाँके निकुञ्जमा ४ र निकुञ्ज बाहिर ५ जनाले वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका छन् ।
पाटेबाघ गणना भएको बाँके बर्दिया कम्प्लेक्समा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता र कम्दी जैविक मार्ग र अन्य वन क्षेत्र र गाउँवस्तीमा एक दशक बढी समयमा एक सय जना भन्दा बढीले वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएका छन् । सयौं व्यक्ति घाइते पनि भएका छन् । बालीनाली र भौतिक पूर्वाधार क्षति पनि उत्तिकै छ ।
वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्र्देशिका २०८० ले वन्यजन्तुको आक्रमणमा मृत्यु भएमा १० लाख, गम्भीर घाइते भइ उपचार गर्दा गर्दै ४५ दिनभित्र मृत्यु भएमा उपचार खर्च र मृतक सरह राहत दिने व्यवस्था छ । त्यस्तै अंगभंग भइ जीवनभर गम्भीर रुपले शारिरीक अशक्तलाई जिविकोपार्जनको लागि एकमुष्ट ५ लाख रुपैयाँ, गम्भीर घाइतेलाई बढीमा २ लाख रुपैयाँसम्म, त्यो रकमले अपुग भएमा अस्पतालका चिकित्सकको सिफारिसमा बिल अनुसार सम्पूर्ण खर्च र सामान्य घाइते भएमा बढीमा २० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था रहेको छ । बालीनाली क्षति र भौैतिक पूर्वाधारमा हुने क्षतिमा पनि राहात दिइन्छ । त्यो भने क्षतिको अवस्था हेरेर निर्धारण गरिन्छ ।
खाता समन्वय समितिले मृतकका परिवारलाई जनही २५ हजार रुपैयाँ किरिया खर्च दिन्छ । सो क्षेत्रमा १७ जनाको परिवारलाई ४ लाख २५ हजार रुपैयाँ वितरण गरेको अध्यक्ष हरि गुरुङले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले पनि मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ आयआर्जनका लागि दिने गरेको छ । आयआर्जनका लागि तराई भूपरिधि कार्यालयले पनि एक जना परिवारलाई औसत सवा लाग रुपैयाँ दिने गरेको छ । मधुवन नगरपालिकाले १६ जना मृतकका परिवारलाई जनही ७५ हजार रुपैयाँका दरले १२ लाख रुपैयाँ राहात बाँडेको छ ।

विपन्न नै वन्यजन्तुको शिकार
मधुवन नगरपालिकाको वडा नं. ३ र ५ का बस्तीमा स्थलगत रुपमा समाचार संकलन गर्न जाँदा अधिकांशका घरमा बाख्रा पालेको भेटियो । कतिले गाईभैंसी पनि पालेका छन् । गाउँघरमा डालेघाँसका बोट छन् । उनीहरु सबै वनमै निर्भर छन् । यी बस्तीमा अधिकांश आदिवासी जनजातिको बसोबास छ । उनीहरु वनमा पात टिप्न, घाँस दाउरा गर्न, च्याउ टिप्न, निगुरो टिप्न, काठ दाउरा चोर्न पनि भारतीय वनमा जान्छन् । मधुवन ३ का वडा अध्यक्ष नारायण मल्ल भन्छन्, ‘हाम्रो वडाबाट निगुरो टिप्न त भारतको बिछिया बजारभन्दा पर (नेपालबाट झन्डै २० किलोमिटर टाढाको) पुग्छन् । कसुम्बा बजार, गुलरियाहुँदै नेपालगन्जसम्म पुग्ने निगुरो यहीका ब्यक्तिले पठाउने गरेका छन् । जंगल नजाउ भन्दा पनि मान्दैनन् ।’ सीमावर्ती भारतीय गाउँ पञ्चायत आम्बा र बर्दियामा ७० प्रतिशत थारु नै भएकाले धेरै वन रक्षकले नेपाली भनेर चिन्दैनन् । सजिलै छलेर आउँछन् । ‘आदिवासी जनजाति जंगलमै आश्रित छन् । उनीहरुलाई जंगल नजाउ भन्न सक्ने अवस्था नै छैन ।
बर्दियाका मधुवन र ठाकुरबाबा लगायतका स्थानीय तह पनि मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि काम गरिरहेका छन् । मधुवन नगरपालिकाको २०८२/०८३ को नीति तथा कार्यक्रममा वन, वन्यजन्तुको ज्यान गुमाएका परिवारलाई राहत कार्यक्रम राखिएको छ । १६औं नगरसभामा नगर प्रमुख तेजबहादुर भाटले प्रस्तुत गरेर सभाबाट पारित नीति तथा कार्यक्रममा मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणको लागि विशेष र नेतृत्वदायी पहल गरिनेछ उल्लेख छ । नगरपालिकाले यस कार्यका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
ठाकुरबाबा नगरपालिकाले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि निकुञ्ज र मध्यवर्ती वन किनारका वडा नं. ६, ७ र ८ मा १७ किलोमिटर हात्ती छेकबार पर्खाल निर्माण गरेको छ । आव ०८३/०८४ मा वडा नंं. १, २, ३ र ४ मा पनि ७ करोड बजेट विनियोजन गरेको छ । (स्रोत : अन्नपूर्ण पोस्ट् दैनिक)