बारबर्दियामा बालविवाह मुक्त वडा घोषणाका लागि कार्ययोजना बनाइँदै

संजय आचार्य । गुलरिया
बर्दियाको बारबर्दिया नगरपालिकाका थप वडालाई बालविवाह मुक्त वडा घोषणा गर्नका लागि कार्ययोजनाको तयारी भइरहेको छ । नगरको २ र ७ नम्बर वडा बालविवाह मुक्त वडा घोषणा भइसकेको छ ।

नगर बालअधिकार समितिको बिहीबार सम्पन्न त्रैमासिक बैठकले बालविवाह मुक्त घोषणा हुन बाँकी वडाका लागि कार्ययोजना तयार गर्ने, घोषणा भइसकेका वडामा निरन्तर अनुगमन गर्ने र सबै वडाले नियमित बैठक तथा अभिलेख व्यवस्थापन गर्ने निर्णय गरिएको हो । बैठकमा स्थानीय तहमा बाल अधिकार तथा बाल संरक्षण संयन्त्रलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै बालबालिकाको संरक्षणका लागि समन्वयात्मक कार्ययोजना निर्माण गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।
छलफलमा नगर तथा वडा बालअधिकार समितिलाई नियमित रूपमा सक्रिय बनाउने, बाल संरक्षणसम्बन्धी घटनाको पहिचान, प्रतिवेदन तथा अभिलेखीकरण गर्ने, बालबालिकाको चाइल्ड प्रोफाइल अद्यावधिक गर्ने र जोखिममा रहेका बालबालिकाको पहिचान गर्ने विषयमा जोड दिइएको सेफ फ्यूजर प्रोजेक्टका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनु भयो । बालविवाह, लागूऔषध दुरुपयोग तथा मानव बेचबिखनलगायत जोखिमबाट बालबालिकालाई सुरक्षित राख्ने उपायबारे समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले जोखिममा रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण, सिफारिस तथा फलोअपका लागि व्यवस्थित प्रणाली विकास गर्ने निर्णय गरेको छ। वडा समितिले विवरण अद्यावधिक गरी आवश्यक सिफारिस गर्ने र नगर समितिले समग्र व्यवस्थापन, समन्वय तथा अनुगमन गर्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।
बैठकमा बालमैत्री स्थानीय शासनका ५१ सूचकबारे छलफल गर्दै बालविवाह न्यूनीकरणलाई प्राथमिकतामा राखी आवश्यक नीति, योजना तथा कार्यक्रम नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णयसमेत भएको छ।
नगर बालअधिकार समिति संयोजक तथा उपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षता तथा नगर प्रमुख छविलाल थारुको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नगर तथा वडा बालअधिकार समितिका संयोजक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।