विद्यालय शिक्षाको पाठ्यक्रममा एआइलाई समेट्न सुझाव
नेपालगन्ज : बाँकेमा शिक्षा क्षेत्रका सरोकारवालाहरुले संघीय सरकारलाई विद्यालय शिक्षाको पाठ्यक्रममा एआईलाई समेट्न सुझाव दिनु भएको छ ।
संघीय सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगत रहेको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले बुधबार नेपालगन्जमा आयोजना गरेको सुझाव संकलनका क्रममा यस्तो सुझाव दिनु भएको हो ।
कार्यक्रममा धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले विद्यार्थीमैत्री पाठ्यक्रम बनाउन सुझाव दिनु भएको थियो । विद्यार्थीको चाहाना अनुरुप नै प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मानबहादुर थापा, अभिभावक हिमनाथ पौडेल, मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, स्प्रिङ डेल एकेडेमीका शिक्षक यशपाल पौडेल, संगीता तिमिल्सिना, विद्यार्थी जयन्त सिंजापतिलगायतले पाठ्यक्रमलांई व्यवहार परिवर्तनमुखी, सीप र श्रमलाई जोड्ने गरी प्रविधिको अधिकतम् प्रयोग गर्दै नैतिक शिक्षा, पाक्शिक्षालाई समेटेर तयार गर्न सुझाव दिनु भएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख मधुसूदन चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेल, सुझाव संकलन कार्यदलका सदस्यद्वय डा.वासुदेव काफ्ले र ऋचा न्यौपानले सुझाव दिने विषयबारे जानकारी गराउनु भएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको समन्वयमा केन्द्रले नेपालगन्जको स्प्रिङ डेल स्कुल कारकाँदोेमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा शिक्षाविद्, जिल्लास्थित सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक र पत्रकारकोे सहभागिता रहेको थियो । केन्द्रले यस अघि २०६३ सालको पाठ्यक्रमलाई २०७६ सालमा परिमार्जन गरेको थियो ।
केन्द्रले काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालकृष्ण लुँइटेलको संयोजकत्वमा १२ सदस्यीय सुझाव संकलन कार्यदल गठन गरेर देशभरका २८ जिल्लामा प्रत्यक्ष सहभागी भएर र अनलाइनबाट गरी ५० हजार सुझाव संकलन गर्ने लक्ष्य लिएको निर्देशक पौडेलले जानकारी दिनुभयो । उहाँले केन्द्रको वेबसाइटमा शिक्षक, विद्यार्थी, अभिभावक र विज्ञका लागि चार वटा छुट्टाछुट्टै प्रश्नावली राखेर अनलाइनमै भरेर पठाउन मिल्ने ब्यवस्था गरेकाले प्रश्नावली भर्न आग्रह पनि गर्नुभयो ।









