कालपृष्ठ दैनिकको २९औं वर्षगाँठमा समृद्ध नेपालगन्जबारे बहस

नेपालगन्ज : तराईको पूरानो सहर नेपालगन्जलाई समृद्ध बनाउन जिल्लाका सरोकारवालाले आधा दर्जन भन्दा बढी आधार देखाएका छन् ।
बाँकेको कालपृष्ठ दैनिकको २९ औं वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा आयोजित नेपालगन्जको समृद्धिका सम्भावना विषयक कार्यक्रमका वक्ताहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, पर्यटन, कृषि, जडिबुटी क्षेत्रको विकास र बलियो मिडिया भए समृद्ध नेपालगन्ज बनाउने आधार भएको बताए ।

नेपालगन्जका पूर्व नगरप्रमुख बरिष्ठ अधिवक्ता विजयकुमार गुप्तले गुरुयोजना बनाएर योजनाबद्ध विकासको खाका नकोरेसम्म नेपालगन्ज समृद्ध नहुने जिकिर गर्नुभयो । उहाँले २०५० सालमा आपूm नगर प्रमुख भएको बेला बनाएको नेपालगन्जको विकासका योजना अझै पनि पूरा हुन नसकेको स्मरण गर्दै भगवान श्रीकृष्ण जस्तो इच्छा र शक्ति भएको नेतृत्व आए मात्र विकास सम्भव हुने बताउनु भयो । सुशासन अभियन्ता नमस्कार शाहले पनि नेपालगन्जमा गुरुयोजना बिना हचुवाको भएर विकास निर्माण भए कहिल्यै समृद्ध हुन नसक्ने दाबी गर्र्नुभएको थियो ।

लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले त सहरको रुप फेरियो, सडक चौडा भए पनि नगरबासीको मनस्थिति, मानसिकता र चेतना उस्तै भएकाले विकासमा बाधा पुगेको जिकिर गर्नुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले संघीयताका कारण नेपालगन्ज पछाडि परेको दृृष्टान्त सुनाउँदै औद्योगिक र पर्यटकीय नगरीको रुपमा विकास गर्दा नेपालगन्ज समृद्ध बन्ने दाबी गर्र्नुभयो ।

संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र निवर्तमान महासचिव भीमबहादुर रानाभाटले आर्थिक क्षेत्रको विकासमा जोड दिनुभयो । नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मी र पूर्वअध्यक्ष श्रीराम सिग्देल र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले पर्यटन क्षेत्रबाट समृद्धि सम्भव रहेको धारणा राख्नु भएको थियो ।

नेपाल जडिबुटी व्यवसायी संघ (जबान)का अध्यक्ष टंकप्रसाद शर्माले जडिबुटीबाटै समृद्ध नेपालगन्ज बन्ने योजना सुनाउनु भयो । खेलकर्मी टिएस ठकुरी र भीम ओलीले खेलकुदबाट समृद्धिको ढोका खोल्ने सम्भावनाको कुरा र उदाहरण प्रस्तुत गर्नुभएको थियो । व्यवसायी विनोद मैनालीले विगतमा कृषि उपजहरु दाल, चामल विदेश निर्यात गर्ने नेपालगन्जमा अझै पनि कृषि क्षेत्रबाटै सम्भावना देखाउनु भएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य बादशाह कुर्मी र अम्बिका काफ्ले, नेपाली कम्युनिष्ट पार्टीका नेता डिल्ली बराल, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विनोद अग्रहरि, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता दीपक शाहीलगायतले समृद्ध नेपालगन्जका लागि एकताबद्ध दल आवश्यक रहेको बताउँदै आफूहरु विकासका मुद्दामा एक भएर लाग्ने प्रतिबद्धता सुनाउनु भएको थियो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका जेन्टिल गौतमले हरेक क्षेत्रको विकासमा सूचना प्रविधिलाई जोडेर मात्र सम्भव हुने भएकाले नगरमै रहेको विश्वविद्यालयबाट हरेक क्षेत्रले अधिकतम् लाभ लिनसक्नुपर्ने सुझाव दिनु भएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य साहित्यकार किरण आचार्य र साहित्यकार ऋचा लुइँटेलले समृद्ध सहरको आधार कला, संस्कृति र साहित्य रहेको तर्क गर्नुभएको थियो ।
कालपृष्ठ दैनिकका संस्थापक सम्पादक बरिष्ठ पत्रकार हेमन्त कर्र्माचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष झलक गैरे र कालपृष्ठ दैनिकका सम्पादक/प्रकाशक कमल खत्रीले समृद्ध नगर हुनका लागि समृद्ध मिडिया बनाउन पनि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका २०५४ साल असोज १० गते साप्ताहिक पत्रिकाको रुपमा दर्ता भएको कालपृष्ठ ५ वर्षपछि दैनिक रुपमा प्रकाशित भइरहेको छ । जिल्लामा पत्रिकाको दर्ता नंं. ३४ रहेको छ । ३०औं वर्ष प्रवेशको अवसरमा मेरोखुसी डटकम पनि पत्रिका परिवारलाई बधाइ तथा शुभकामना दिँदै आगामी दिनमा पनि उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।