खजुराका शिक्षकलाई योग साधना प्रशिक्षण
खजुरा : बाँकेको खजुरा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकहरूका लागि योग साधना शिविर सञ्चालन गरिएको छ।
खजुरा गाउँपालिकाको आयोजना तथा पतञ्जली योग समितिको प्राविधिक सहयोगमा शिक्षकहरूलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ राख्दै विद्यालयमा योग, अनुशासन, सदाचार र असल संस्कारको अभ्यास विस्तार गर्ने उद्देश्यले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई पाँचदिने योग साधना प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा पतञ्जली योग समितिअन्तर्गत युवा नेपाल समितिका मुख्य केन्द्रीय प्रमुख साहवीदेव विजया, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा चौधरी तथा युवा नेपाल समितिका नगर प्रमुख लक्ष्मी खनालले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नु भएको थियो । मन्त्रयोग, सङ्गीतको तालमा गरिने सूक्ष्म व्यायाम, सर्वाङ्गसुन्दर व्यायाम, सूर्य नमस्कार, भूमि नमस्कार, प्राणायाम तथा ध्यानलगायतका विभिन्न विधिबाट योग साधनाको अभ्यास गराइएको थियो। शिक्षकहरूलाई विभिन्न योगासन, प्राणायाम, ध्यान तथा दैनिक जीवनमा योगलाई समाहित गर्ने व्यावहारिक विधिबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम समापन समारोहमा पतञ्जली योग समितिका प्रदेश सहप्रभारी धर्मराज पोख्रेल, बाँके जिल्ला अध्यक्ष पुष्कर आचार्य, समितिका बोधराज प्याकुरेल, समितिका कानुनी सल्लाहकार तथा योग प्रशिक्षक अधिवक्ता वसन्त गौतम, युवा नेपाल समिति बाँकेका उपाध्यक्ष हिरा रावत, जिल्ला कोषाध्यक्ष तारा खनाल, नगर प्रभारी बलबहादुर केसी तथा पतञ्जली योग समिति खजुराका अध्यक्ष जीवनाथ सापकोटालगायतको सहभागिता रहेको थियो।
समापन समारोहमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विक ‘तुफान’, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी, आयुर्वेद शाखा प्रमुख किरण खनाल तथा वरिष्ठ लेखा अधिकृत प्रदीप खनाललगायतको उपस्थिति रहेको थियो।
समापनका अवसरमा गाउँपालिका अध्यक्ष डम्मर विक ‘तुफान’ले नसर्ने रोगको नियन्त्रण तथा नागरिकलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्ने सरकारी लक्ष्य हासिल गर्न योग साधनाको महत्त्वपूर्ण भूमिका रहने बताउनु भयो । नागरिकको स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले विद्यालयका शिक्षकहरूलाई योग साधना प्रशिक्षण प्रदान गरेको उनको भनाइ थियो।
कार्यक्रमका वक्ताहरूले योगलाई व्यायाममा मात्र सीमित नराखी स्वस्थ जीवनशैली, असल संस्कार र अनुशासित व्यवहार विकास गर्ने माध्यमका रूपमा विद्यालय तहदेखि नै विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । विद्यालयको पाठ्यक्रममा समेत योग साधनामार्फत स्वस्थ जीवन र संस्कार सिकाउने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँहरूको भनाइ थियो।
कार्यक्रममा पतञ्जली योग समितिका कानुनी सल्लाहकार तथा योग प्रशिक्षक अधिवक्ता वसन्त गौतमले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि योग साधना आवश्यक रहेको बताउनु भयो । योगलाई सार्थक र सन्तुलित जीवन जिउने आधारका रूपमा विकास गर्न दैनिक नित्यकर्मकै रूपमा नियमित अभ्यास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सदाचार, उचित आहार–विहार, सत्कर्म र सकारात्मक सोचको विकासमा योग साधनाको महत्त्व रहेको उल्लेख गर्दै उहाँले योगले व्यक्तिको आचरण, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने जिकिर गर्नुभयो ।सहभागी शिक्षकहरू लक्ष्मी महतरा, हिमानी मगर, विजया ठकुरी, निर्मला रोका मगर, निरमाया सिंह, धनबहादुर सिंह, बसिर खाँ, सुशीला गिरी, दिनेश सुनार र भोजराज पौडेललगायतले योग अभ्यासले शारीरिक तथा मानसिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरेको प्रतिक्रिया दिनु भएको थियो । गत असोज २६ गतेदेखि ३० गतेसम्म हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको प्रशिक्षणमा २२ जना शिक्षक सहभागी भएका थिए।









