एनपीएल : कर्णाली, चितवन र लुम्बिनीको विजयी सुरुवात
नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दुई दिनमा तीन वटा खेलबाट कर्णाली याक्स, चितवन राइनोज र लुम्बिनी लायन्सले विजयी सुरुवात गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइपीएलको दोस्रो दिनको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो ।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाएपनि जित दिलाउन सकेनन् । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन बनाउनु भयो । जिम्मी निशम १५, मायन यादव १४, तृतराज दास एक, अनिलकुमार शाह ११, कुशल परेवा ६ र आदित्य मेहता कुनै पनि रन नजोडी आउट हुुनु भयो । ललित राजवंशी एक रनमा आउट हुँदा राहुल यादव एक रनमा अविजित रहनु भयो ।
बलिङमा कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान ३ विकेट लिनु भयो । युनिसले ४ ओभरमा एक मेडनसहित ३ विकेट लिनु भएको हो । उहाँले एकै ओभरमा जनकपुरका कप्तान हर्मीत र जिमीलाई आउट गर्दै खेल कर्णालीको पकडमा ल्याउनु भएको थियो । नन्दन यादवले दुई र कप्तान सोमपाल कामीले एकएक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाउनु भएको थियो । .इस्लामले २९ बलमा ४ चौका प्रहार गर्नु भएको थियो ।
कर्णालीले सुरुवातबाटै विकेट गुमाउन पुग्यो । पहिलो ओभरको अन्तिम बलमा कर्णालीका ओपनर मार्क वाट एक रन जोडेर पभेलियन फर्किनु भयो । ४ रनमा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दो दोस्रो विकेट गुमाउन पुग्यो ।
डेब्यु गरेको जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गराउनु भएको थियो । कर्णालीले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो । हुसेन तलत ३ रन जोडेर आउट हुनु भयो। त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले कर्णालीको ब्याटिङ उकास्ने प्रयास गरे पनि सफल हुनु भएन । दुबैले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्नु भएको थियो । अरिफुल २९ बलमा ४३ र पवन ३७ बलमा ३७ रन बनाएर आउट हुनु भयो। त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झाले १२ रन बनाउनु भयो । नन्दन यादव ९ रनमा आउट हुँदा युवराज खत्री र युनिश ठकुरी अविजित रहनु भयो ।
बलिङमा जनकपुरका कप्तान हर्मीत सिंहले ३ विकेट, मोइन अली र राहुल यादवले दुईदुई र ललित राजवंशीले एक विकेट लिनु भयोे ।
एनपीएलको तेस्रो संस्करणको दोस्रो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै चितवन राइनोज विजयी भएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १९.३ ओभरमा अलआउट भएको हो। १३२ रनमा ५ विकेट गुमाएको विराटनगरले त्यसपछि भने विकेट जोगाउनै सकेन । ५ विकेटको पतनमा विराटनगरले २६ रन जोड्न सकेन।
विराटनगरको लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाउनु भयो । उहाँले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्नु भएको थियो । अर्का ओपनर लोकेश बमले २६ रन बनाउनु भयो । यी दुईले पहिलो विकेटको लागि ४० रनको साझेदारी बनाउनु भएको थियो । चारिथ आशलंका ८ रन र बसिर अहमद १३ रनमा पेभेलियन फर्किदा आन्द्रे रसेलले ३३ रन बनाउनु भयो । उहाँले १६ बलमा बलमा १ चौका र ४ छक्का प्रहार गर्नुभयो । उहाँको साथमा एन्जेलो म्याथ्यूसले ४३ रनको साझेदारी बनाउनु भएको थियो । एन्जेलोले १४ रन बनाउनु भयो ।
१८.४ ओभरमा नरेन साउदको क्याच देव खनालले हातमा आएको बल क्याच ड्रप गर्नु भयो । सन्दीपलाई बोल्ड गरेका रिजनको बलमा अन्तिम विकेटको रुपमा क्रिजमा आएका नरेनको क्याच ड्रप हुँदा खेलको मोड अन्तिम ओभरमा लम्बिएको हो। अन्तिम विकेटको रुपमा रुभम रञ्जाने १० रनमा बोल्ड हुनु भयो ।
चितवनका लागि बलिङतर्फ, कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिनु भयो। रिजन ढकालले २ विकेट लिँदा रञ्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले एक एक विकेट लिनु भयो ।
त्यसअघि, ब्याटिङ गरेको चितवन राइनोजको डेविट मलानले सर्वाधिक ७० रन बनाउनु भयो । उहाँले ५० बलमा समान ५ चौका र ५ छक्का प्रहार गर्नुभयो । उहाँले पहिलो विकेटको लागि देव खनालसँग ५८ रनको साझेदारी गर्नु भएको थियो । देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट हुनु भयो। वान डाउनमा आएका अर्जुन साउद ३ रनमा क्याच हुनु भयो ।
चितवन राइनोजले जुन तरिकाले पावरप्ले सुरुवात गरेको थियो त्यो तरिकाले मध्यक्रममा चल्न सकेन। वान डाउन आएका अर्जुन सस्तैमा समेटिनुभयो। ओपनरमा डेविट मलानले सुरुवातमा केही बल डट खेले त्यसपछि भने उहाँको ब्याट चल्न थाल्यो। उनको ७० रनको पारी नै चितवनको अंक उकास्ने माध्यम बन्यो।
उहाँलाई देवले चाहेजस्तो साथ दिन सक्नु भएन । चौथो विकेटको लागि आजको खेलमा कप्तानी सम्हालेका रवि बोपारा कप्तान रवि बोपाराले ३२ रन बनाउँदै अविजित रहनु भयो। डान मुस्ले २९ रनमा अविजित रहनु भयो । यी दुईले चौथो विकेटको लागि ६७ रनको अविजित साझेदारी गर्नु भयो । साझेदारीले चितवनलाई १५० माथिको स्कोरमा पुर्याएको थियो।
विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले एक एक विकेट लिनु भएको थियो ।
यस अघि सोमबार आइपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। एनपीएलमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच साँझ ५ बजे खेल हुनेछ ।










