तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताको टाइटल स्पोन्सर नबिल बैंक

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने र नबिल बैंकका नेपालगन्ज शाखा प्रबन्धक राधाकृष्ण पोखरेल । फोटो : शंकरप्रसाद खनाल

नेपालगन्ज । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गर्न लागेको तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिताको टाइटल स्पोन्सर नबिल बैंकले गरेको छ ।
क्लबका अध्यक्ष केशवराज न्यौपाने र बैंकका नेपालगन्ज शाखा प्रबन्धक राधाकृष्ण पोखरेलले बुधबार नेपालगन्जमा टाइटल स्पोन्सर सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीमा आगामी १४ र १५ कार्तिकमा आयोजना हुन लागेको प्रतियोगितामा भारतको नयाँ दिल्ली र पञ्जाबका साथै नेपालका सबै प्रदेशबाट गरी २ सय भन्दा बढी सहभागी हुने क्लबका अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो ।
प्रतियोगितामा ८ वर्षदेखि १७ वर्ष उमेर समूहका र १७ वर्षभन्दा माथिका खेलाडीबीच खुला प्रतिष्पर्धा हुने प्रतियोगितामा फ्रि स्टाइल, बेस्टस्ट्रोक, ब्याक स्ट्रोक, बटर फ्लाइ, रिले र ब्यक्तिगत गरी ८० वटा इभेन्ट आयोजना हुने प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्का क्षेत्रीले जानकारी दिनुभयो । खेलाडीहरुले बुधबारदेखि नै नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा अभ्यास गर्न थालेका छन् ।

नेपाल पौडी संघको वार्षिक क्यालेण्डर तथा प्राविधिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका, लुम्बिनी खेलकुद परिषद् र कोहलपुर नगरपालिकाले सहकार्य गरेको प्रतियोगिता निर्देशक सूर्यमणि अधिकारी बताउनु हुन्छ । प्रतियोगितामा विद्यालय पाटर्नरको रुपमा शिखा एकेडेमी कोहलपुर, आदर्श मावि नेपालगन्ज, बागेश्वरी एकेडेमी कोहलपुर रहेका छन् । त्यस्तै स्क्रिन पाटर्नरको रुपमा डर्मा अर्थ, आइटी पाटर्नर टेक्नो फन्ट रहेका छन् ।
बाँके भन्दा बाहिरबाट आएका खेलाडीहरुका लागि नेपालगन्ज स्वीमिङ क्लबले चार तारे होटलहरु होटल सिद्धार्थ, सिटी प्यालेस, होटल कलपत्रु, स्नेह र डायमण्ड प्यालेसमा निःशुल्क बास र खानाको व्यवस्था गरेको छ ।