यमपञ्चक अर्थात तिहार सुरु, आज काग तिहार

नेपालगन्ज : हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शुक्रबार कार्तिक कृष्ण त्रयोदशी तिथि धनतेरसबाट तिहार सुरु भएको हो । शनिबार भने काग तिहार हो । धनवन्तरी जयन्ती पनि आजै हो । तिथिको घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आइतबार बिहान अरुणोदयकालमा नरक स्नान गरी कुकुर तिहार र साँझ लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाइको छ ।
२३ कात्तिकमा गाईपूजा, २४ कात्तिकमा गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र म्हपूजा परेको छ । यस वर्ष भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । उक्त दिन बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । घरघरमा झिलीमिली बत्ती र बच्चाहरुले पटाका पड्काउने क्रम पनि तिहारसँगै सुरु भइसकेको छ ।