यमपञ्चक : आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

नेपालगन्ज : हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन भाइ तिहार मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइ तिहार मनाइन्छ । भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र गच्छेअनुसार उपहार वा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत नै खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दिनभर टीका लगाउन कुनै बाधा छैन ।
टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।