डुडुवाका किशोरीको तीन तहकै सरकार माग : गाउँमा बाल विवाहविरुद्ध जनचेतना कार्यक्रम गरौं

बेतहनी (बाँके) : बाँकेका किशोरीले तीन तहकैै सरकार र सरोकारवालालाई बाल विवाहबारे गाउँगाउँमा सचेतनामूलक कार्यक्रम आयोजना गर्न माग गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेले डुडुवा गाउँपालिका २ बेतहनीमा आयोजना गरेको दुई दिने सञ्चार सीप तालिम समापनको अवसरमा शनिबार किशोरी समूहले बेतहनी चौराहका स्थानीयसँग कुरा गर्दा गाउँगाउँमा बाल विवाह शिक्षा नपुगेको निष्कर्षमा पुगेका हुन् ।

डुडुवाको प्रगतिशील किशोरी क्लबकी अध्यक्ष पुनम केवट सचिव सरिता यादवले शनिबार विज्ञप्ती जारी गरी जिल्लाका गाउँगाउँमा अझैं बाल विवाह भइरहेको, बिहे गर्ने उमेरबारे सर्वसाधारणलाई थाहा नभएको र विवाह गर्ने, गराउनेहरुलाई कारबाही नहुँदा कानून उल्लंघन गर्ने क्रम बढेको विज्ञप्तीमा उल्लेख छ । क्लबले नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, डुडुवा गाउँपालिका र सरोकारवाला संघसंस्था वा निकायलाई बाल विवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दै प्रहरी प्रशासनलाई बाल विवाह गर्ने, गराउनलाई कडा कानुनी कारबाही गर्न पनि माग गरेको छ ।

तालिममा किशोरीहरुले सञ्चार, सञ्चार प्रक्रिया, किशोरीले सार्वजनिक गर्नुपर्ने सूचना, किशोरी क्लबको सार्वजनिक सञ्चार, सञ्चार गर्ने विधि, सरोकारवाला, सरोकारवालासँग सञ्चार विधि, विज्ञप्ती लेखनलगायतका विषयमा सैद्धान्तिक जानकारी र व्यवहारिक अभ्यास गरेका थिए । अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल र नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदीले तालिममा सहजीकरण गरेका थिए । तालिममा प्रगतिशील किशोरी क्लबका पदाधिकारी र सदस्यलाई १२/१२ जनाको दुई समूहमा छुट्टा छुट्टै तालिम दिइएको थियो । समापनको अवसरमा स्याककी सहजकर्ता आकृति यादवले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न किशोरीहरुसँग आग्रह गरेकी थिइन् ।