बर्दिया निकुञ्जमा जंगल सफारी र जंगल वाक् खुला

बर्दिया राष्ट्रिय निकुञ्ज सफारीका क्रममा भेटिएका मृग र गैैंडा । फोटो : द ग्रेट एड्भ्याञ्चर ट्रेकसको वेभसाइटबाट

मुरली गोडिया । गुलरिया
कोरोना भाइरस (कोभिड–१९) का कारण ८ महिनादेखि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी र जंगल वाक् खुला गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले दशैं, तिहार, छठलगायतका चाडपर्वहरुमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले निकुञ्जमा निश्चित मापदण्ड बनाएर खुला गर्न अनुमति पाएको बताए ।
‘निकुञ्जका शर्त परिधिभित्र रही नियमानुसारको अनुमति लिई पर्यटकीय गतिविधिहरुका लागि प्रवेश गर्न चाहने पर्यटकलाई निकुञ्ज प्रवेश खुला गरिएको हो’, उनले प्रष्ट पारे, ‘अहिले पर्यटकीय गतिविधि अन्तरगत जंगल सफारी र जंगल वाक्का लागि मात्र निकुञ्जमा अनुमति दिइएको छ ।’
स्वास्थ्य सुरक्षा संवेदनशीलताका कारण गत वर्षको चैत्र महिनादेखि निकुञ्जमा पर्यटकीय गतिविधि बन्द गरिएको थियो । नेपालकै नमूना पर्यटकीय गन्तब्यका रुपमा रहेको निकुञ्जमा सिमित क्रियाकलापका लागि खुला गरिएको छ । निकुञ्जमा घुम्न पाएपछि पर्यटकहरु खुसी भएका छन् । धेरै दिनको बन्द पछि निकुञ्ज अवलोकनले आनन्द मिलेको नेपालन्जबाट घुम्न आएकी धनु वलीले बताइन् । कोरोनाका कारण केही समय विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटक तथा छिमेकी जिल्लाका पर्यटकहरु आउन शुरु गरेका छन् ।
विदेशी पर्यटकलाई भित्र्याउन यहाँको सडक सञ्जालमार्फत सहज पहुँच विस्तार, बासको उचित व्यवस्थापन तथा अन्य रमणिय स्थालहरुको निर्माणमा जोड दिर्नुपर्ने ठाकुरबाबा नगरपालिकाकी कृष्णदेवी थापाले सल्लाह दिइन् । नेपालमै रहेका विदेश पर्यटक आउने गरेका छन् । निकुञ्ज खुला गरिएपछि ३ सय बढी आन्तरिक पर्यटक निकुञ्ज अवलोकन गर्न आएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।