कोरोनाका मृतकमध्ये नेपालगन्जका ६५% (पालिकाको मृतकसूचीसहित)

बाँकेमा कोरोनाबाट मृत्यु भएकामध्ये नेपालगन्ज उपमहानगरपालिकाका २४, कोहलपुर नगरपालिकाका ७ र अन्य ५ गाउँपालिकाका ६ जना

नेपालगन्ज : बाँकेको सहरी क्षेत्र कोरोनाको उच्च जोखिममा देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु भएका ३७ जनामध्ये ३१ जना सहरी क्षेत्र (नेपालगन्ज र कोहलपुर) का मात्र छन् । जुन कोरोनाबाट मृत्यु भएको कूल संख्याको ८३.७८ प्रतिशत हो । त्यसमा पनि नेपालगन्ज उपमहानगरपालिकाका मात्र ६५ प्रतिशत छन् । कोरोनाबाट नेपालगन्जमा मात्र २४ जनाले ज्यान गुमाएका छन्् । जुन कूल मृतकको ६४.८६ प्रतिशत हो । कोहलपुर नगरपालिकामा ७ जनाको मृत्यु भएको छ । जुन कूल मृतकको १८.९१ प्रतिशत हो । ५ वटा गाउँपालिकाहरुमा ६ जनाको ज्यान गएको छ । जुन कूल मृतकको १६.२१ प्रतिशत हो ।
जिल्लामा खजुरामा २, नरैनापुर, जानकी, बैजनाथ र राप्ती सोनारीमा एक एक जनाको कोरोनाबाट मृत्यु भएको छ । डुडुवा गाउँपालिकामा मात्र अहिलेसम्म कसैको कोरोनाबाट ज्यान गएको छैन । शुक्रबार बिहानसम्म जिल्लामा कोरोना संक्रमितको संख्या भने ३ हजार ६ सय ४६ पुगेको छ । निको भएका ३ हजार ४ सय ३० र आइसोलेसनमा एक सय ७९ जना उपचार गराइरहेका छन् ।