बाँकेको सीमामा एक एक किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको कभरेज

फोटो सौजन्य : सौरभ गिरी

मेरो खुसी संवाददाता
नेपालगन्ज : बाँके जिल्लाको भारतको बहराइच र श्रावस्ती जिल्लासँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरीले एक एक किलोमिटरमा कभरेज गर्ने गरी जनशक्ति व्यवस्थापन गरेको छ ।
कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमित तीन जना भेटिएपछि बाँकेको सीमा सुरक्षा व्यवस्था गरिएको शसस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गणका प्रमुख एसपी दीपक अधिकारीले एक सय २० जना सशस्त्र प्रहरी थपेर सुरक्षा मजबुत पारेको बताए ।
उनले भने, ‘सीमामा कोही पनि लुकीचोरी नेपाल प्रवेश नगरोस् भन्नका लागि भर्खरै तालिम सकेका सशस्त्र प्रहरीलाई सीमामा खटाइएको छ ।’ सशस्त्रले ६ वटा वीओपीमा जनशक्ति थपेको छ भने डुडुवा गाउँपालिकाको वडा नं. १ खडैंचा र जानकी गाउँपालिकाको वडा नं. २ पानी ट्यांकीमा बीस बीस जना रहने गरी फरवार्ड बेस क्याम्प स्थापना गरेको छ ।