ध्वस्त भएको २० वर्षपछि प्रहरीको अत्याधुनिक भवन

मानबहादुर ठकुल्ला । टीकापुर
सशस्त्र द्वन्द्वमा क्रममा माओवादी आक्रमणबाट ध्वस्त भएको कैलालीको सत्ती प्रहरी चौकी २० वर्षपछि अत्याधुनिक बनेको छ ।
टीकापुर नगरपालिका ७ मा रहेको प्रहरी चौैकी २०५७ सालमा माओवादीले आक्रमण गरी चौकी ध्वस्त बनाएका थिए । त्यसपछि भने प्रहरी चौकी विस्थापित गरी इलाका प्रहरी कार्यालय टीकापुरमा सत्ती प्रहरी चौकी गाभिएको थियो ।
शान्ति प्रक्रियापछि २०६३ साल मङ्सिरमा प्रहरी चौकीको पुनःस्थापना भएको थियो । सुरुमा साझा सहकारीको जिर्ण भवन र त्यसपछि बिस्थापित पशु क्वारेन्टाइनको जिर्ण भवनमा प्रहरी चौकी राखिएको थियो ।
प्रहरी चौकी सत्तीका इन्चार्ज प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्द जिर्ण भवनमा रहँदा छतबाट सिमेन्ट खसेर चोटपटक लागेर घाइते हुने हो कि भन्ने सधैं चिन्ता हुने गरेको बताउँछन् । ‘थुनुवाहरुलाइ राख्न समेत समस्या थियो’, उनले अनुभव सुनाए, ‘अहिले सुबिधा सम्पन्न नयाँ भवन निर्माण भएको छ । महिला र पुरुष थुनुवाकक्ष अलग अलग छ ।’
चौकीमा महिला प्रहरीको समेत दरबन्दी भएकोले महिलामाथि हुने हिंसा सहज रुपमा खुलेर बताउन सक्ने र अपराधिक क्रियाकलापमा महिला बालबालिकाको प्रयोग हुनसक्ने सम्भावना भएकोले चेकजाँच गर्न समेत सहज भएको उनले बताए । मुद्दा फाँटमा कार्यरत प्रहरी जवान डबल खड्काले सुविधा सप्पन्न भवन, सीसी क्यामेरा जडित र कम्प्युटरबाट सबै कार्यहरु गर्नुपर्ने भएकोले आत्मबल बढेको बताउँछन् ।
युएनपीएसले निर्माण गरेको प्रहरी चौकीमा थुनुवा कक्ष, महिला तथा बालबालिका र जेष्ठ नागरिक सहायता तथा परामर्श कक्षसहित ८ कोठा छन् । करिब ३ करोडमा निर्माण भएको उक्त २ तले सुबिधा सम्पन्न भवनमा प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दको कमान्डमा १० जना प्रहरीको दरबन्दी छ । द्वन्द्वकालमा विस्थापित भएका सत्ती भन्सार, राष्ट्रिय बाणिज्य बैंक र प्रहरी चौकीको पुनःस्थापना भए पनि भेटेनरीको पुनःस्थापना हुनसकेको छैन ।