बालविवाहविरुद्ध जानकी गाउँपालिकामा किशोरीको घरदैलो
सुरज गुरुङ । जानकी (बाँके)
बाँकेको जानकी गाउँपालिकामा बाल विवाहविरुद्ध किशोरीले घरदैलो गरेका छन् ।
सिर्जनशील किशोरी क्लबको अगुवाइमा बालविवाह मुक्त वडा घोषणा गर्नका लागि वडा नं. ५ बकसपुरमा बुधबार घरदैलो अभियान सञ्चालन गरिएको हो। सो अवसरमा व्यक्तिगत घटना दर्ता र बाल विवाहबिरुद्ध पोस्टर र पम्पिलेट टाँसिएको थियो । कार्यपालिका सदस्य, वडा सदस्य, स्वयं सेविका, प्रहरी किशोरी क्लबका पदाधिकारी र सदस्य गरी २५ जना सहभागी भएका थिए ।
त्यसैगरी, बालविवाह रोकथाम न्यूनिकरणका लागि सेवाप्रदायकहरुसँग तीन दिने कार्यशाला गोष्ठी पनि बुधबार जानकी गाउँपालिकामा सम्पन्न भएको छ। स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले वडा हुँदै गाउँपालिकालाई बाल विवाह मुक्त घोषणा गरिने प्रतिबद्धता जनाइन् । जनप्रतिनिधि, धार्मिक गुरु , शिक्षक, किशोरी क्लब, बाल क्लब, स्वयं सेविका, प्रहरी तथा छापाखानालगायतका सेवा प्रदायक संस्थाको सहभागिता रहेको थियो ।