बाँकेमा जारी निषेधाज्ञा जेठ ३ सम्म थपियो

नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञा तेस्रो पटक जेठ ३ गतेसम्म थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसका कारण परिस्थिति असहज बन्दै गइरहेकोले संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै निषेधाज्ञा जारी गरिए पनि संक्रमणले झनै भयावह रुप लिन थालेपछि निषेधाज्ञा एक हप्ताका लागि थप गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा जिल्लामा संक्रमण तिब्र रुपमा बढिरहेको कुरालाई गम्भीरतापूर्वक लिँदै संक्रमण रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन निषेधाज्ञा थप गरिएको उल्लेख छ । यसअघि वैशाख १३ गतेदेखि बाँकेमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । संक्रमण नियन्त्रणमा नआएपछि हप्ता दिनको समय तोकेर तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो ।