स्वास्थ्यकर्मीको गुनासो : न्यूनतम् सामग्री अभाव

नेपालगन्ज:कोरोना भाइरसको रोकथामका लागि नेपालगन्जका विभिन्न स्वास्थ्य संस्था तथा हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीहरुले आफूहरुलाई न्यूनतम् स्वास्थ्य सामाग्रीको अभाव भएको गुनासो गरेका छन ।

कोरोना स्वास्थ्य स्वास्थ्य जाँचका लागि नभइ नहुने मास्क, पन्जा, पीपीई, ज्वरो नाप्ने यन्त्रलगायत अन्य उपकरण नहुँदा स्वास्थ्यकर्मीहरु त्रासमा रहेको उनीहरुले दुःखेसो सुनाए ।

शनिवार नेपालगन्ज उपमहानगरपालिकामा आयोजित कोरोना भाइरस सम्बन्धी समन्वयात्मक बैठकमा सहभागी चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढ्दै गएका बेला स्वास्थ्यकर्मीहरुसँग आधारभूत आवश्यकताका साधनसमेत नभएको गुनासो गरे । बैठकमा भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले अत्यावश्यक स्रोत साधनको अभावमा स्वास्थ्यकर्मीको सुरक्षा हुन नसकेको बताए । ‘हामीसँग सिमित स्रोत साधन छ’ उनले भने ‘त्यो दुईचार दिनमै सकिन्छ ।’ यहाँबाट पठाइएका नमूना पेन्डिंगमा रहेकाले अब त्यसको नतिजा आउनसक्ने बेला भएको उनले बताए । ‘अब हामी हाइ एलर्ट मात्र होइन, आजै रातिदेखि एक्सनमा जानुपर्ने अवस्था छ’ डा.पाण्डेले भने ।
कोरोना माहामारीको संक्रमण फैलिन सक्ने अवस्था भए पनि हालसम्म नेपालगन्ज क्वारेन्टाइन, आइसोलेसन वार्ड लगायत अति आवश्यक तयारी नभएको प्रति अधिकांश बैठकका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाले कोरोना परीक्षणका लागि ल्याव लगायत उपकरण नहुँदा यहाँका कुनै पनि अस्पतालमा विरामीको नमूना परीक्षण मात्र हुने बताए । ‘त्यसका लागि हामी आजै के गर्न सकिन्छ गम्भिर भएर निर्णयमा पुगौं, भोलि ढिलो भैसक्छ ।’ उनले भने ।
यसैबीच न्यूनतम् सामाग्री विना कोरोना परीक्षणमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा जोखिममा रहेको भन्दै जिल्लाका स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई शनिबार नै ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले आवश्यक सामाग्री तत्काल उपलब्ध गर्न नसके आफूहरु काममा जान बाध्य नहुने चेतावनी दिएका हुन् । ज्ञापनपत्रमा हेल्पडेक्समा पालैपालो स्वास्थ्यकर्मी खटाउनुपर्ने, महामारीको उपचारमा खटिने कर्मचारीलाई सुरक्षा, इन्सेन्टिभ, बिमालगायत सेवा सुविधा तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग रहेका छन् ।