नेपालगन्ज भन्सार कार्यालयको नौ महिनामा राजश्व संकलन लक्ष्यभन्दा करिब पौने तीन अर्ब कम

नेपालगन्ज : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रत्यक्ष प्रभाव राजश्व संकलनमा पनि परेको छ । चैत ११ गते मुलुक लकडाउन भएयता नेपालगन्जस्थित विभिन्न कार्यालयको राजश्व संकलन पनि प्रभावित भएको हो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा करिब पौने नौ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले चैत मसान्तसम्म ८ अर्ब ७६ करोड ४९ लाख ६७ हजार राजश्व संकलन गरेको हो । कार्यालयको सो अवधिको लक्ष्य ११ अर्ब ५३ करोड ७ लाख ७९ हजार रहेकोमा लक्ष्य भन्दा २ अर्ब ७६ करोड ५८ लाख १२ हजार कम राजश्व संकलन भएको जनाएको छ ।
भन्सार विभागले चालु आर्थिक वर्षमा कार्यालयको लक्ष्यमा बृद्धि गरेपछि लक्ष्य अनुसार राजश्व संकलन गर्न समस्या परिरहेको समयमा कोरोना भाइरसका कारण मुलुक लकडाउनमा गएपछि त्यसको प्रभाव झनै पर्ने देखिन्छ । गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड १ लाख १६ हजार राजश्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा लक्ष्यदरमा बृद्धि भएर १५ अर्ब ४३ करोड ७५ लाख १४ हजार रहेको छ । यस वर्ष लक्ष्य अनुसार राजश्व संकलन गर्न चुनौती रहेका बेला चैत ११ गते मुलुक लकडाउनमा गएयता अत्यावश्यक बस्तु बाहेक अन्य सामान नआउँदा राजश्व संकलन दर ह्वातै घटेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।
कार्यालयका अनुसार यसअवधिमा पेट्रोलियम पर्दाथ, ग्यास, खाद्धान्न, तरकारी लगायत अत्यावश्यक बस्तुमात्र आयात भएका कारण राजश्व संकलन पनि घटेको कार्यालयले जनाएको छ । लकडाउन अझै लम्बिँदै गए राजश्व संकलनमा ठूलो असर पर्ने कार्यालय प्रमुख निरौलाको भनाइ छ ।