सार्कका ५ देशमा एक हजार ८८ जनाको मृत्यु (सूचीसहित)

भारतमा ६८६, पाकिस्तानमा २२८, बंगलादेशमा १२७, अफगानिस्तानमा ४० र श्रीलंकमा ७ जनाको मृत्युु, नेपाल, भुटान र माल्दिभ्समा मृत्यु शून्य

नेपालगन्ज : दक्षिण एशियाका ५ देशमा कोरोना भाइरस (कोभिड १९) बाट एक हजार ८८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी संंक्रमित र मृतक भारतमा छन् ।
विश्वव्यापी कोरोना भाइरसको अवस्था अपडेट गर्ने वल्डोमिटर्स डट इन्फोको बिहीबार राति ९ बजेसम्मको रेकर्ड अनुसार सार्क देशमा संक्रमितको संख्या ३८ हजार पाँच सय चार पुगेको छ भने निको हुने ७ हजार एक सय ३३ छन् ।
कोरोनाबाट भारतमा मात्र ६ सय ८६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने २१ हजार ७ सय ९७ पुगेको छ । निको हुने चार हजार तीन सय ७६ जना छन् ।
पाकिस्तानमा दुई सय २८, बंगलादेशमा १२७, अफगानिस्तानमा ४० र श्रीलंकामा ७ जनाको कोरोनाबाट ज्यान गएको छ ।
सार्कका नेपाल, भुटान र माल्दिभ्समा कोरोना संक्रमित भेटिए पनि अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । सबैभन्दा कम संक्रमित भुटानमा ७ जना छन् । तीमध्ये पनि तीन जनालाई त कोरोना निको भइसकेको छ । त्यसपछि नेपालमा ४८ जना संक्रमित छन् । नेपालमा भने निको भएर घर फर्कने ९ जना पुगेका छन् ।