वडाअध्यक्षसँग प्रश्न, ‘प्रधानजी बाली कसरी काट्न पाउँछौं ?’

जानकी, डुडुवा, नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका किसानको भारतमा जग्गा
बाँकेको जानकी गाउँपालिका -१ साइगाउँका स्थानीय । इन्सेटमा वडाअध्यक्ष । फोटो : मेरो खुसी

साइगाउँ (बाँके) : बाँकेको जानकी गाउँपालिका १ का वडा अध्यक्ष मोहम्मद रजा राईको घरमा दिनहुँ ३०÷४० जना मानिस आउँछन् । लकडाउनले खान नपाएर भोकै बस्नु परेको भन्ने भन्दा भारतमा भएको आफ्नो जग्गाको बाली स्याहार्न नपाएको पीर गर्ने धेरै हुन्छन् । त्यो बाली भित्र्याउन नपाउँदा भने भोकमरी पर्ने उनीहरुमा चिन्ता छ । सबैको सधैं वडाअध्यक्षसँग साझा प्रश्न हुन्छ, ‘प्रधानजी हाम्रो बाली कसरी काट्न पाउँछौ ।’ उनले आफूले केही पनि गर्न नसकिरहेको बताउँछन् । भन्छन्, ‘यो मेरो हैसियतको कुरा होइन । म उनीहरुलाई सम्झाउँदा सम्झाउँदा हैरान छु । कि हामीलाई बाली काट्न दिनुस् । होइन भने हामीलाई तपाईले पाल्नुपर्छ ।’
वडा नम्बर १ का साइगाउँ, पचपोखरा, बढैया र शिवपुरी चार गाउँको भारतमा करिब डेढ सय विगाहा जग्गामा लगाएको गहुुँ, मसुरो र तोरी पाकेर झर्न लागिसकेको छ ।
जानकी, डुडुवा, नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका किसानको जग्गा भारतमा छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लकडाउनका कारण एसएसबीले गहुँ काट्न नदिएको बताए । उनी भन्छन्, ‘कतिपय ठाउँमा व्यवहारिक रुपमा दुबै देशका सुरक्षा निकायको समन्वयमा काट्न दिइएको छ । माथिको आदेश नआउँदासम्म सहज रुपमा काट्न पाउने अवस्था छैन ।’