यसरी भइरहेको छ, दशगजाको क्वारेन्टाइन व्यवस्थापन

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरमा सुख्खा बन्दरगाहको जग्गामा निर्माण गरिएको क्वारेन्टाइन तीन तहकै सरकार, सामुदायिक र सेवामूलक संघसंस्थाको समन्वय, सहकार्य र साझेदारीमा व्यवस्थाप भइरहेको छ ।
संघीय सरकारले सुरक्षाको जिम्मा पाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीन वटै सुरक्षा निकायले अधिकृत स्तरको कमाण्डरमा दश दश जना गरी ३० जना सुरक्षाकर्मी खटाइएका छन् । दश दश जनाका दरले संयुक्त सुरक्षा प्रदान गरेका छन् । क्वारेन्टाइनमा नेपाली सेनाले एक सय ८१ जनालाई राख्नका लागि ४५ वटा टेन्ट गाडेको हो । आवश्यकता अनुसार नगर प्रहरी पनि परिचालन भएका छन् ।
एउटा टेन्टमा चार जनादेखि पाँच जना बसिरहेका छन् । हरेकलाई ओछ्याउने पीफर्म, ओढ्ने कम्मल, झुल नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले सहयोग गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले क्यारेन्टाइनमा दुई वटा घुम्ती शौचालय, तीन वटा हेण्डपम्प, सरसफाइका लागि डस्बिन र कर्मचारी खटाएको छ । उनीहरुलाई खानपानको सम्पूर्ण व्यवस्था पनि उपमहानगरकै जिम्मामा छ । केही दिनदेखि शिख समुदायले खाना खुवाइरहेको छ ।
नियमित चेकजाँचको व्यवस्था पनि उपमहानगरकै जिम्मामा छ । एक सय चार डिग्रीभन्दा बढी ज्वरो आएमा रुघाखोकी लागेमा कोरोनाको आशंका भएमा स्वाव संकलन गरेर काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने काम भने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले गर्नेछ । थप उपचार गर्नुपर्ने भएमा भेरी अस्पतालमा पठाइने गरी व्यवस्था मिलाइएको छ ।