नीलसागर वृद्धाश्रम आर्थिक संंटकमा

घरभाडा, खाना, खाजा, लुगालत्ता, विद्यार्थीको शुल्क र औषधोपचारमा समस्या

मेरो खुसी संवाददाता
नेपालगन्ज : बाँकेको नीलसागर वृद्धाश्रम तथा असहाय सेवा केन्द्र आर्थिक संकटमा परेको छ ।
जन्मदिन, विवाह उत्सव, वार्षिकोत्सवलगायतका बेला नीलसागरलाई सहयोग गर्नेहरु लकडाउनपछि आउन छोडेपछि आश्रम सन्चालनमै कठिनाइ भइरहेको केन्द्रका सचिव नारायणप्रसाद सुवेदीले बताउँछन् ।
‘आफ्नो उत्सवको खर्च कटौती गरेर आश्रममा सहयोग गर्न आउनुहुन्थ्यो । यस्तो सहयोगले कम्तीमा पनि आधा महिनाको खर्च चल्थ्यो । २० दिन यता कोही पनि आउनु भएको छैन’, उनले भने, ‘हाम्रा नियमित सहयोगदाता हुनुहुन्थ्यो । अहिले निकै थोरै व्यक्तिबाट नियमित सहयोग भइरहेको छ । आश्रम कसरी सन्चालन गर्ने भन्ने चिन्ता थपिएको छ ।’ घरभाडा, खाना, खाजा, लुगालत्ता, विद्यार्थीको शुल्क र औषधोपचारमा समस्या भइरहेको छ ।
दाताहरुले दाल, चामल, नून, तेल, चिया, चिनी, चाउचाउलगायतका खाद्यान्न र फलफूल सहयोग गर्थे । नीलसागरको नेपालगन्ज (८१), कोहलपुर (२४), बर्दियाको गुलरिया (२८) र दाङ (४८) शाखामा गरी एक सय ८१ जना रहेका छन् ।