सिमेन्ट सरियाका पसल बन्द हुँदा मजदुरको बिचल्ली, आर्ट अफ लिभिङबाट खाद्यान्न सहयोग

द आर्ट अफ लिभिङ नेपालगन्ज सेन्टरले उपलब्ध गराएको राहात हस्तान्तरण गर्दै स्वयंसेवक दीपेन्द्र रावल । फोटो : मेरोे खुसी

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपालगन्जको कारकाँदो चोकका सिमेन्ट र सरिया बोक्ने काम बर्दियाका चौधरीहरुले गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन हुन्छ । उनीहरुका परिवारका सदस्य पनि सँगै छन् । ‘दिनभरी काम गरेर साँझतिर अन्नको जोहो गर्थे’, कारकाँदो चोकमा न्यु भेरी राप्ती कोल्ड सेन्टर सन्चालन गरेर बसेका धनञ्जय खड्काले उनीहरुको समस्याबारे भने, ‘लकडाउनपछि सरिया र सिमेन्टका पसल बन्द भए । उनीहरुलाई हातमुख जोर्नै समस्या भयोे । वडा कार्यालयसँग राहात माग्दा भोटर लिस्टमा नाम हुनुपर्छ भनेर फर्काएछन् ।’
खड्काले उनीहरु समस्यामा परेको खबर द आर्ट अफ लिभिङ नेपालगन्ज सेन्टरलाई दिए । योग, ध्यान र सेवाको क्षेत्रमा क्रियाशील अध्यात्मिक संस्था आर्ट अफ अफ लिभिङले मंगलबार १० परिवारलाई जनही १० किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन, एक किलो चिउरा र ५ किलो आलु वितरण गरिएको नेपालगन्ज सेन्टरका संयोजक संजय थापाले बताए । ६ जनासम्मको परिवार रहेकाहरुलाई ६ जनालाई दोब्बर राहात वितरण गरिएको थियो । संयोजक थापाले राहात वितरणबारे प्रष्ट पारे, ‘दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई खाद्यान्न अभाव भएको खबर पायौं । बुझ्दा उनीहरु वास्तविक पीडित भएको थाहा भयो । कसैैले पनि सहयोग नगरेका व्यक्तिलाई सहयोग गर्न पाउँदा हामी औधि खुसी छौं ।’
राहात वितरण कार्यक्रममा नेपालगन्ज सेन्टरका सदस्य विजय भण्डारी (वासु)लगायत आर्ट अफ लिभिङका स्वयंसेवकहरु सहभागी भएका थिए ।