भिखारीपूर्वा र पिप्रहवा गाउँभित्र अपपरिचित व्यक्ति नजानु होला कारबाहीमा परिएला !

कोहलपुर नगरपालिका १४ भिखारीपूर्वाको प्रवेशद्वार डोरी र रिबनको बार । फोटो : मेरो खुसी

मेरो खुसी संवाददाता

पिप्रहवा (बाँके) :  कोहलपुर नगरपालिका १४ मा पार्वतीपुरको पूर्वपट्टि भिखारीपूर्वा छ । जहाँ यादवहरुको बाक्लो बस्ती छ । यहाँका महिला, पुरुष र बालबालिका माक्स बिना नै सुरक्षित बसेका छन् ।
गाउँ प्रवेशको पश्चिमीद्वारमा भने उनीहरुले डोरी र रिबनको बार लगाएर ९ दिनदेखि सूचना राखेका छन्, ‘बाहिरको मानिस यस गाउँमा प्र्रवेश गर्न निषेध गरिएको छ । नियम उल्लंघन गरेमा ६ महिना सजाय हुनेछ ।’ अपरिचित ब्यक्तिबाट कोरोना सर्नबाट जोगाउन उनीहरुले यो जुक्ति निकालेका हुन् । स्थानीय सुरज यादव भन्छन्, ‘यो सूचना पढेपछि अहिलेसम्म कोही नयाँ मान्छे गाउँ पस्न हिम्मत गरेको छैन । कारबाही के हुने होे थाहा छैन ।’ त्यसो त, कोहलपुर ११ मै पनि अपरिचित ब्यक्तिलाई आउन नदिन मुडा तेर्साएर र काठे बार लगाइएको छ ।

कोहलपुर ११ को काठेबार । फोटो : मेरो खुसी

कोहलपुर चौराहाको बाटो छलेर चोट बाटो नेपालगन्ज जान खोज्ने अपरिचित ब्यक्तिबाट कोरोना सर्ने चिन्ता स्थानीयमा थियो ।

कोहलपुर ११ मुडा तेर्साएर लगाएको बार । फोटो : मेरो खुसी

जानकी गाउँपालिका ६ पिप्रहवा गाउँको प्रवेशद्वारमा डोरीको बार लगाएर ‘बाहिरको मान्छे गाउँभित्र आउन सख्त मनाही छ’ लेखिएको छ । स्थानीय प्रेम लोनिया अटेर गर्नेले कुटाइ खाने बताउँछन् ।

जानकी गाउँपालिका ६ पिप्रहवा गाउँको प्रवेशद्वारमा डोरीको बार । फोटो : मेरो खुसी

नेपालगन्जदेखि जानकी गाउँपालिकाहुँदै कोहलपुरसम्म १६ किलोमिटरको स्थलगत रिपोर्टिङमा सहरी क्षेत्रमा भन्दा गाउँमा अपरिचित ब्यक्ति गाउँ प्रवेश नहोउन भनेर बढी सचेत भएको देखिन्थ्यो ।