बाँकेमा २१७ को कोरोना जाँच, २१६ को रिपोर्ट नेगेटिभ

बाँकेको नरैनापुर गाउँपालिका ६त को जय किसान मावि भगवानपुरमा -यापिट टेस्टबाट कोरोना जाँच गर्दै स्वास्थ्यकर्मी । फोटो : मेरो खुसी

नेपालगन्ज :  बाँके जिल्लामा कोरोना भाइरस (कोभिड १९) जाँच गरिएका दुई सय १७ जनाको कोरोना जाँच गर्दा दुई सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार एक सय ३९ जनाको -यापिट टेस्ट र ७६ जनाको प्रयोगशालामा कोरोना जाँच गरिएको हो । नरैनापुरमा १३४, खजुरामा २ र जानकीमा २ जनामा गरिएको -यापिट टेस्टबाट रगत जाँचिएका सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
सुरुमा काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र पछिल्लो समय रुपन्देहीको प्रादेशिक प्रयोगशालामा पठाइएका ७६ जनाको स्वाब परीक्षणमा ६९ जनाको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले प्रष्ट पारे । ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको -यापिट टेस्टबाट कोरोना जाँच गर्नका लागि सबै स्थानीय तहबाट गर्ने व्यवस्था मिलाएको छ । जसका लागि सबै स्थानीय तहका प्रशोगशालाका प्राविधिकहरुलाई तालिम दिइसकेको छ ।