नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा रहेका बर्दियाका बेहनाको मृत्यु

नेपालगन्ज : बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको शनिबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको छ । उनको कोरोना जाँच भने भएको थिएन । मृत्युपछि मात्र कोरोना जाँचका लागि स्वाब संंकलन गरिएको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा.रोमन किदवाईका अनुसार तीन दिन अघि सास सिकिस्त बिरामी भइ उपचारमा आएका बेहनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
डा.किदवार्ईले भने, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु ज्वरो, रुघाखोकी र स्वास फेर्न कठिनाइ भएको अवस्थामा आएका थिए । हामीले तत्कालै आइसोलेसनमा राखेर उपचार जारी राखेका थियौं ।’ शिक्षण अस्पताल नेपालगन्जमा आइसोलेसनमा अहिले पनि १३ जनाको उपचार भइरहेको छ ।